विष्णुप्रसाद देवकोटा
डोल्पा।
विश्वप्रसिद्ध फोक्सुण्डो तालमा केही व्यक्तिहरूले पौडी खेलिरहेको दृश्य पछिल्ला दिनमा सामाजिक सञ्जालमा भाइरल बनेपछि तालको संरक्षण, व्यवस्थापन र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। प्राकृतिक सम्पदा, धार्मिक आस्था र पर्यटकीय महत्त्वको केन्द्रका रूपमा परिचित फोक्सुण्डो तालमा पौडी खेल्ने अनुमति कसले दियो ? कुन निकायको आदेशमा यस्तो गतिविधि भयो ? भन्ने विषय अहिले स्थानीयवासी तथा पर्यटन व्यवसायीहरूको चासोको विषय बनेको छ।
वर्षौंदेखि तालको संरक्षणका नाममा स्थानीय बासिन्दालाई समेत तालभित्रबाट पानी लिन नदिइने अवस्था रहेको छ। तर, त्यही तालभित्र खुलेआम पौडी खेलिएको दृश्य सार्वजनिक हुँदा संरक्षणका नियम केवल सर्वसाधारणका लागि मात्रै हुन् कि भन्ने प्रश्न उठ्न थालेको छ।
ताल परिसरमा राखिएका सूचना बोर्डहरूमा स्पष्ट रूपमा “नुहाउन पाइने छैन, फोहोर गर्न पाइने छैन, कपडा धुन पाइने छैन” भन्ने उल्लेख गरिएको छ। साथै यस्ता गतिविधि गरेमा निकुञ्ज ऐनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ। तर नियम उल्लंघन भइरहँदा तालछेउमै रहेका निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएका नेपाली सेनाको ध्यान किन पुग्न सकेन भन्ने प्रश्नको जवाफ अझै अस्पष्ट छ।
संरक्षणविद्हरूका अनुसार फोक्सुण्डो ताल केवल पर्यटकीय गन्तव्य मात्र होइन, डोल्पाको पहिचान र प्राकृतिक सम्पदाको प्रतीक हो। जो–कोहीले तालभित्र प्रवेश गरी पौडी खेल्ने, नुहाउने वा अन्य गतिविधि गर्न थाले संरक्षणको मूल मर्म नै संकटमा पर्ने उनीहरूको चिन्ता छ।
फाेक्सुण्डो तालबाट बग्ने पानी फोक्सुण्डो झरना हुँदै पदमार्ग आसपासका बस्तीमा पुग्ने भएकाले स्थानीयले यसलाई प्राकृतिक मिनरल पानीका रूपमा प्रयोग गर्दै आएका छन्। यस्तो अवस्थामा तालभित्र हुने अवाञ्छित गतिविधिले पानीको स्वच्छता र पर्यावरणीय सन्तुलनमा समेत असर पार्न सक्ने सरोकारवालाहरूको भनाइ छ।
पर्यटन व्यवसायी तथा स्थानीयवासी नोर्बु लामाले फोक्सुण्डो तालमा पौडी खेलिएको भिडियाे सार्वजनिक गरेर घटनाले संरक्षण र सरसफाइ अभियानमाथि गम्भीर चुनौती थपेको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। “संरक्षणका नियम सबैका लागि समान हुनुपर्छ। विश्वसम्पदा सरह मानिने ताललाई मनोरञ्जनस्थल बनाउने प्रवृत्तिलाई तत्काल रोक्नुपर्छ,” उनले भने।
यस विषयमा प्रतिक्रिया दिँदै निकुञ्ज सुरक्षार्थ खटिएको सार्दुल गुल्म सुलिगाडका प्रमुख मेजर हरिश शाहीले यार्सागुम्बा संकलनको सिजनका कारण जनशक्ति अन्यत्र व्यस्त रहेका बेला कसैले मौका छोपेर तालमा नुहाएको हुन सक्ने बताए। “वास्तविकता के हो बुझ्दैछौं, आवश्यक जानकारी संकलन भइरहेको छ,” उनले भने।
यता शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत विज्ञान सेनले यतिखेर पर्यटककाे संख्या र यार्सागुम्बा संकलकहरुकाे समेत संख्या बढिरहेकाले ताल भन्दा केही तल त्यस्ताे गतिविधि भएकाे तर निकुञ्ज प्रशासनले निगरानी भने दिइरहेकाे बताए ।
विश्वकै दुर्लभ र सुन्दर हिमाली तालमध्ये एक मानिने फोक्सुण्डो तालमा नियम विपरीत गतिविधि भइरहँदा सम्बन्धित निकायको मौनता स्वयंमा चिन्ताको विषय बनेको छ। संरक्षणका नाममा सर्वसाधारणलाई कडा नियम लागू गर्ने तर सार्वजनिक रूपमा उल्लंघन हुँदा बेखबर बन्ने प्रवृत्ति रोकिएन भने फोक्सुण्डोको प्राकृतिक गरिमा र अन्तर्राष्ट्रिय छवि दुवैमा दीर्घकालीन असर पर्न सक्ने स्थानीयको चेतावनी छ।
फाेक्सुण्डाे तालमा ‘पौडी पर्यटन’ ! संरक्षण नियममाथि खुला चुनौती
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २८ जेष्ठ २०८३, बिहीबार १४:४७