ताजा समाचार

श्रीबालात्रिपुरा सुन्दरीको आँगनमा थपियो आस्थाको आकर्षण:राधाकृष्ण मुर्ति प्राणप्रतिष्ठा

विष्णुप्रसाद देवकोटा
डोल्पा : मध्यपश्चिम क्षेत्रकै प्रमुख शक्तिपीठका रूपमा परिचित डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित श्री बाला त्रिपुरा सुन्दरी योगमाया भगवती मन्दिर परिसरमा राधा–कृष्णको मूर्ति प्राणप्रतिष्ठा गरिएको छ।धार्मिक विधि र वैदिक अनुष्ठानसहित गरिएको प्राणप्रतिष्ठाले मन्दिर परिसरमा धार्मिक रौनक थपेको पुजारी देविकृष्ण उपाध्यायले बताए ।
श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धनधान्याचल, पितृमोक्ष, शालग्राम पूजार्चना तथा श्रृङ्गारिक महाआरती–२०८३ को पावन अवसर तथा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गते नवनिर्मित मन्दिरमा राधा–कृष्णको मूर्ति प्राणप्रतिष्ठा गरिएको हो।
मन्दिर परिसरको पश्चिमतर्फ रहेको ऐतिहासिक हरिकृतन मन्दिर जीर्ण भएर भग्नावशेषमा परिणत भएपछि पुनर्निर्माणका क्रममा पुरानो संरचना हटाएर जमिन सम्याई ढुङ्गा बिछ्याएर चौर बनाइएको थियो।

सोही ऐतिहासिक स्थलमा हरिकृतन मन्दिरको सट्टा राधा–कृष्णको नयाँ मन्दिर निर्माण गरी मूर्ति स्थापना गरिएको हो।
भारतको मुरादावादबाट ल्याइएको राधा–कृष्णको मूर्ति करिब साढे दुई लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने बताइएको छ। मूर्ति बाला त्रिपुरा सुन्दरी मन्दिर अक्षयकोष विकास समितिले खरिद गरेर ल्याएको हो।
अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायका अनुसार सघन सहरी विकास कार्यालय, जुम्लामार्फत कोटेशन प्रक्रियाबाट प्राप्त भ्याटसहितको ८ लाख रुपैयाँमध्ये खौलास्थित फूलपाती पूजा हुने स्थलमा प्याराफिट निर्माण तथा दलित बस्तीतर्फको बाटो पिच गर्ने काम सम्पन्न भएपछि बाँकी रहेको करिब २ लाख ८० हजार रुपैयाँमध्ये १ लाख ८० हजार रुपैयाँ मन्दिर परिसर प्रवेशद्वार खौलास्थित साइनकोड निर्माणमा तथा १ लाख रुपैयाँ राधा–कृष्णको मूर्ति खरिदमा खर्च गरिएको हो।
त्यस्तै, मन्दिरका आसागुर्जा खरिद तथा मर्मतसम्भारका लागि नौघर न्यौपाने पुजारीसहित भक्तजनबाट संकलित रकम तथा अन्य स्रोतबाट बचत भएको रकमसमेत मूर्ति खरिदमा प्रयोग गरिएको उनले बताए।
अक्षयकोषका सचिव टिकादत्त न्यौपानेले भने राधा–कृष्णको मूर्ति प्राणप्रतिष्ठाकै लागि भनेर पुजारीसहित देश–विदेशमा रहेका भक्तजनबाट संकलित २ लाख ६१ हजार रुपैयाँ भने हाल मौज्दात रहेको जानकारी दिए।
उनका अनुसार उक्त रकम मूर्ति प्राणप्रतिष्ठाका क्रममा मन्दिरको डेकोरेशन, गिट्टी–बालुवा ढुवानी, मिस्त्री चार्जलगायतका आवश्यक कार्यमा खर्च गरिनेछ। सामाजिक सञ्जालमार्फत सहयोग आह्वान गर्दा स्वदेश तथा विदेशमा रहेका भक्तजनबाट सहयोग प्राप्त भएको भन्दै उनले सबै सहयोगीप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।
भग्नावशेषबाट सुन्दरताको पुनरागमन
ऐतिहासिक हरिकृतन मन्दिर जीर्ण भई भग्नावशेषमा परिणत हुँदा मन्दिर परिसरको सुन्दरतामा समेत असर परेको थियो। अहिले त्यही पुरानो धार्मिक थलोमा आकर्षक राधा–कृष्णको मूर्ति प्राणप्रतिष्ठा भएपछि परिसरको सौन्दर्यसँगै धार्मिक महत्त्वसमेत थपिएको छ।
स्थानीय धार्मिक इतिहाससँग जोडिएको उक्त स्थानमा सयौँ वर्षदेखि भजन–कीर्तन तथा हरिकृतन हुने गरेको धार्मिक विश्वास छ। समयक्रममा पुरानो संरचना जीर्ण भएपछि त्यसको अस्तित्व भग्नावशेषमा सीमित भएको थियो। अहिले सोही ऐतिहासिक स्मृतिलाई जीवन्त राख्दै नयाँ स्वरूपमा राधा–कृष्णको मूर्ति स्थापना गरिएको हो।
शक्ति उपासनाको प्रमुख केन्द्र बालात्रिपुरा सुन्दरी भगवतीको आँगनमा कृष्ण जन्माष्टमीकै अवसरमा राधा–कृष्णको मूर्ति स्थापना हुनुले धार्मिक दृष्टिले समेत विशेष अर्थ राखेको छ। यसले शक्तिको आस्था, कृष्णभक्तिको परम्परा र हरिकृतनको ऐतिहासिक स्मृतिलाई एउटै परिसरमा जोडेको छ।
राधा–कृष्णको मूर्ति स्थापनासँगै त्रिपुराकोटको धार्मिक पहिचानमा अर्को आकर्षण थपिएको स्थानीयको भनाइ छ। विशेषगरी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको अवसरमा भएको प्राणप्रतिष्ठाले भक्तजन तथा धार्मिक पर्यटकका लागि मन्दिर परिसरमा थप धार्मिक गन्तव्य सिर्जना गरेको छ।

पुरानो हरिकृतनको सम्झना बोकेको थलोमा स्थापित राधा–कृष्णको नयाँ प्रतिमाले बालात्रिपुरा सुन्दरी मन्दिरको धार्मिक इतिहासमा एउटा नयाँ अध्याय थपेको छ।

तपाईको प्रतिक्रिया