डोल्पा — भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा सुख्खा पहिरो खसेपछि रोकिएका सवारीसाधन पुनः गन्तव्यतर्फ लागेका छन्।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ छिप्रेदहमा आइतबार बिहान करिब साढे ८ बजे सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक बन्द हुँदा डोल्पाबाट बाहिरिने तथा जिल्लातर्फ भित्रिने सवारीसाधन छिप्रेदहमै रोकिएका थिए।
सडक अवरुद्ध भएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय करवगार्डबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। सम्बन्धित निकायसँग समन्वय गरी पहिरो हटाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार पहिरो हटाइएपछि सडकमा रोकिएका सवारीसाधन सञ्चालनमा आएका छन्।
यद्यपि, छिप्रेदह क्षेत्रमा पुनः पहिरो खस्न सक्ने जोखिम कायमै रहेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
पहिरो हटाएसंगै अवरुद्ध भेरिकरिडाेर सडक खुल्यो
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २१ भाद्र २०८३, आईतवार १२:५९