ताजा समाचार

चोरीका सामानसहित पक्राउ परेका दुई मध्ये एक जना अफिम मुद्दाका फरार प्रतिवादी


डोल्पा । डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–२ कलाङमा चोरीका सामानसहित पक्राउ परेका दुईमध्ये एक जना लागूऔषध (अफिम) मुद्दाका फरार प्रतिवादी रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार गत भदौ ८ गते राति कलाङमा स्थानीय तीन जनाको घरमा कोही नभएको मौका छोपी ताला फोडेर नगद तथा गरगहना चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक पदम रावलको कमाण्डमा खटिएको टोलीले भदौ १० गते डोल्पोबुद्ध गाउँपालिका–२ धोबाट चोरीका सामानसहित दुई जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा रुकुम पश्चिमको साविक गोतामकोट गाविस–५ हाल आठबिसकोट नगरपालिका–५ बस्ने ३८ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका–३ खदीका निशान भण्डारी रहेका छन्।
अनुसन्धानका क्रममा तिलक भण्डारी रुकुम पश्चिममा दर्ता भएको लागूऔषध (अफिम) सम्बन्धी मुद्दाका फरार प्रतिवादीसमेत रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रुकुम पश्चिमको साविक गोतामकोट गाविस–५ हाल आठबिसकोट नगरपालिका–५ बस्ने कर्णबहादुर भण्डारीका छोरा तिलक भण्डारीविरुद्ध २०८२ साउन ७ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा लागूऔषध (अफिम) कसूरसम्बन्धी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा वारदातस्थलबाटै भागी फरार रहेका उनी डोल्पामा चोरीको आरोपमा पक्राउ परेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विनयकुमार सिंहका अनुसार पक्राउ परेका दुवै जनामाथि चोरीसम्बन्धी अनुसन्धान भइरहेको छ। लागूऔषध मुद्दामा फरार रहेको खुलेका तिलक भण्डारीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया