ताजा समाचार

झरीको प्रवाह नगरी खर्कमै स्वास्थ्यकर्मी, बालबालिकाको वृद्धि अनुगमन र पोषण लेखाजोखा

विष्णुप्रसाद देवकोटा
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–२ अन्तर्गत पर्ने रसि गाउँका बालबालिकालाई स्वास्थ्यकर्मीले खर्कमै पुगेर स्वास्थ्य सेवा दिएका छन्।
यतिबेला रसि गाउँका अधिकांश स्थानीयवासी आफ्ना बालबालिका तथा परिवारसहित लेख–खर्कतिर बसाइँ सरेका छन्। गाउँमा भन्दा खर्कमै स्थानीयको बसोबास बढी भएपछि स्वास्थ्यकर्मीले वर्षात्को झरीको समेत प्रवाह नगरी खर्कमै पुगेर सेवा दिएका हुन्।
स्वास्थ्यकर्मी मनसरी थापाले खर्कमै पुगेर बालबालिकाको वृद्धि अनुगमन तथा पोषण लेखाजोखा गर्दै आवश्यक स्वास्थ्य सेवा प्रदान गरेकी हुन्।
स्वास्थ्य सेवा लिन सेवाग्राही स्वास्थ्य संस्थासम्म आउनुपर्ने मात्र नभई आवश्यकताअनुसार स्वास्थ्यकर्मी नै सेवाग्राहीको घरदैलो र बस्तीमा पुग्नुपर्ने उनको कार्यले देखाएको छ।
त्रिपुरासुन्दरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले इच्छाशक्ति भए स्वास्थ्य सेवा जहाँसुकै पुगेर दिन सकिने भन्दै स्वास्थ्यकर्मी मनसरी थापाको कार्य उदाहरणीय रहेको बताए।
श्रेष्ठले खर्कमै पुगेर बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थाबारे जानकारी लिँदै सेवा प्रदान गरेकोमा स्वास्थ्यकर्मी थापालाई धन्यवाद व्यक्त समेत गरेका छन ।

तपाईको प्रतिक्रिया