ताजा समाचार

कान्छीबजारमा ट्राफिक चेकजाँच :चालक–यात्रुलाई सचेतना

विष्णुप्रसाद देवकोटा
डोल्पा ।भेरी करिडोरमा बढ्दो सवारी चाप र दुर्घटनाको जोखिमबीच डोल्पा प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–१ कान्छीबजारमा सवारी चेकजाँचसँगै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले भेरी करिडोर सडकखण्डमा सञ्चालन हुने सवारी साधनको चेकजाँच गर्दै चालक, सहचालक तथा यात्रुलाई ट्राफिक नियम पालनाका लागि सचेत गराएको हो।
प्रहरीले आवश्यक कागजात साथमा राख्न, निर्धारित गतिमा सवारी चलाउन, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग गर्न र मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरेको छ।
त्यस्तै, चालक तथा सहचालकलाई यात्रुप्रति मर्यादित व्यवहार गर्न र सुरक्षित यात्राका लागि आवश्यक सावधानी अपनाउनसमेत सचेत गराइएको छ।
सडकमा एउटा सानो लापरबाहीले जीवनभरको पीडा निम्त्याउन सक्छ। त्यसैले ट्राफिक नियम प्रहरीका लागि मात्र होइन, हरेक चालक र यात्रुको जीवन सुरक्षाका लागि हुन्।
सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित र जिम्मेवार सवारी सञ्चालनको संस्कार विकास गर्ने उद्देश्यले यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने डिएसपी अनिलराज गिरीले बताए ।

तपाईको प्रतिक्रिया