ताजा समाचार

डोल्पोबुद्धमा स्वास्थ्य सेवाको ऐतिहासिक छलाङ : धोमा पहिलो संस्थागत सुत्केरी

विष्णुप्रसाद देवकोटा

डोल्पा ।भौगोलिक विकटता, कठोर मौसम र परम्परागत सामाजिक मान्यताले स्वास्थ्य सेवाको पहुँचलाई चुनौती दिँदै आएको छ, विकट हिमाली क्षेत्र डाेल्पामा ।यसैबीच उच्च हिमाली क्षेत्र डोल्पोबुद्धमा सुरक्षित मातृत्व सेवाले ऐतिहासिक सुरुआत गरेको छ।
डोल्पोबुद्ध गाउँपालिका–३ स्थित धो स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा पहिलो पटक संस्थागत सुत्केरी सेवा सफल भएको हो। संघीयता कार्यान्वयन भएको झन्डै एक दशकपछि गाउँपालिकाभित्रकै स्वास्थ्य संस्थामा पहिलो पटक गर्भवती महिलाको सुरक्षित प्रसूति गराइएको हो।
शुक्रबार स्थानीय ३१ वर्षीया धावा आङमो लामाले धो स्वास्थ्य चौकीमै सुरक्षित रूपमा शिशुलाई जन्म दिएकी हुन्। धो स्वास्थ्य चौकीका प्रमुख चन्द्रराज बुढाका अनुसार आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य छ।
“यो स्वास्थ्यकर्मीका लागि निकै सुखद र महत्वपूर्ण उपलब्धि हो,” उनले भने।
सीमित स्रोत–साधन, उच्च हिमाली क्षेत्रको न्यून तापक्रम र कठिन भौगोलिक अवस्थाबीच सुरक्षित प्रसूति गराउन हेल्थ असिस्टेन्ट कार्मा साङमो थापा भोटे, अहेब तथा अ.न.मि. कर्मा साङमो लामा लगायत स्वास्थ्यकर्मीको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
डोल्पोबुद्धमा संस्थागत सुत्केरी सेवा नियमित हुन नसक्नुमा दक्ष स्वास्थ्य जनशक्तिको अभाव, आवश्यक प्रसूति उपकरणको कमी, कमजोर यातायात पहुँच र कठोर भौगोलिक अवस्थालाई प्रमुख कारण मानिएको छ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र विकका अनुसार उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो, भौतिक संरचनाको अभाव र दक्ष जनशक्ति व्यवस्थापनमा देखिएको कठिनाइले सेवा प्रभावित हुँदै आएको थियो।
तर समस्या भौतिक पूर्वाधारमा मात्र सीमित छैन। धार्मिक तथा सांस्कृतिक विश्वास, घरमै सुत्केरी हुने पुरानो परम्परा र प्रसूति पीडा लामो समयसम्म अरूले नदेखून् भन्ने सामाजिक मान्यताका कारण पनि धेरै गर्भवती महिला स्वास्थ्य संस्थासम्म पुग्न हिच्किचाउने गरेका छन्।
यही सामाजिक मनोविज्ञान र भौगोलिक चुनौतीबीच धो स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा भएको पहिलो संस्थागत सुत्केरीलाई स्थानीय स्वास्थ्य सेवामा आएको महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।
स्वास्थ्यकर्मीहरूले सुरक्षित मातृत्वका लागि नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामै प्रसूति र नवजात शिशुको उचित हेरचाह आवश्यक रहेको भन्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
डोल्पोबुद्ध गाउँपालिकाले धो स्वास्थ्य चौकीमा भएको पहिलो संस्थागत सुत्केरीलाई स्थानीय स्वास्थ्य सेवाको ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ। आगामी दिनमा बर्थिङ सेन्टरलाई थप सुदृढ बनाउने, आवश्यक उपकरणको व्यवस्था गर्ने र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरी संस्थागत प्रसूति सेवाको पहुँच विस्तार गर्ने गाउँपालिकाले जनाएको छ।
डोल्पोबुद्धमा यो केवल एउटा शिशुको जन्म मात्र होइन—दुर्गम हिमाली भूगोलमा सुरक्षित मातृत्व सेवाको नयाँ युगको सुरुआत पनि हो।

तपाईको प्रतिक्रिया