विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पाको पर्यटन, स्थानीय कला–संस्कृति र उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित दोस्रो डोल्पा पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३ शुक्रबारदेखि दुनैमा सुरु भएको छ।
ठूलीभेरी नगरपालिका–दुनैस्थित रंगशालामा सुरु भएको महोत्सवको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले उद्घाटन गरेका हुन्।
महोत्सव साउन १८ गतेसम्म सञ्चालन हुनेछ।
डोल्पाका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्दै जिल्लालाई आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य महोत्सवले लिएको छ। महोत्सवमा स्थानीय कृषि उपज, जडीबुटी, हस्तकला तथा घरेलु उत्पादनको प्रदर्शनी र बिक्रीमार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास गरिएकोआयोजकले जनाएको छ।
महोत्सव व्यवस्थापन समितिका अध्यक्ष कमल बुढाले महोत्सव मनोरञ्जनमा मात्र सीमित नभई डोल्पाको पर्यटन, व्यापार र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने साझा अभियानका रूपमा आयोजना गरिएको बताए।
महोत्सवको उद्घाटन सत्रमा सरस्वती माध्यमिक विद्यालय दुनै र दुनै बोर्डिङ स्कुलका विद्यार्थीले सांस्कृतिक प्रस्तुति दिएका थिए। शनिबारदेखि डोल्पासहित कर्णाली प्रदेशका विभिन्न जिल्लाका कलाकार तथा सांस्कृतिक समूहले मौलिक कला, संस्कृति र परम्परा झल्काउने प्रस्तुति दिने आयोजकले जनाएको छ।
महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, दुर्गेश थापा, सुमन बिसी र ज्योति मगर लगायतको सांगीतिक प्रस्तुति रहनेछ।
ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको संरक्षणमा आयोजना भइरहेको महोत्सवमा हजारौँ दर्शक तथा आन्तरिक पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको छ। उद्घाटन समारोहमा ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका वडाध्यक्षलगायत जनप्रतिनिधिले महोत्सवको सफलताको शुभकामना दिएका थिए।
महोत्सवका मिडिया पार्टनरमा डोल्पान्युज अनलाइन, फोक्सुण्डो खबर, साझा कर्णाली, रेडियो डोल्पा एफएम, कान्जिरोवा पोस्ट, रंगीन पाटी, नेपाल इन्फर्म र इमानदार खबर रहेका छन्।

डोल्पा न्यूज । ८ श्रावण २०८३, शुक्रबार १७:३४