ताजा समाचार

भेरी करिडोरमा पहिरोको कहर:सडक अवरुद्ध,यात्रु अलपत्र,आयाेजना प्रमुख सम्पर्क विहिन

विष्णुप्रसाद देवकोटा
डोल्पा । गएराति परेको वर्षातका कारण लेदोसहितको पहिरो खस्दा भेरी करिडोरअन्तर्गत फुल्पानी–चुगाड सडकखण्डको धाउनेनजिक सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि डोल्पा आउने र डोल्पाबाट बाहिरिने सयौँ यात्रु तथा सवारीसाधन बाटोमै अलपत्र परेका छन्।
नेपालगन्ज, काठमाडौंलगायतका शहरबाट डोल्पाको दुनैका लागि छुटेका ठूला तथा साना सवारीसाधन पहिरोका कारण बीच बाटोमै रोकिएका छन्। त्यसैगरी, डोल्पाबाट नेपालगन्जलगायतका शहरतर्फ छुटेका सवारीसाधनसमेत वल्लो भागमै थन्किएका छन्। दुवैतर्फका यात्रुहरू लामो समयदेखि सडक खुल्ने प्रतीक्षामा अलपत्र अवस्थामा छन्।
सडक अवरुद्ध भएपछि समस्या समाधानका लागि भेरी करिडोरका योजना प्रमुख नरेश केशरीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल नम्बर ९८५१०७०७५० स्विच अफ रहेको पाइएको छ। सडक अवरोधजस्तो गम्भीर विषयमा सम्बन्धित जिम्मेवार अधिकारी नै सम्पर्कविहीन हुँदा भेरी करिडोर कार्यालयको कार्यशैलीमाथि प्रश्न उठ्दै आउने गरेकाे छ ।
भेरी करिडोरअन्तर्गतका सडकमा वर्षायाम सुरु भएसँगै पहिरो र सडक अवरोधको समस्या दोहोरिँदै आए पनि दीर्घकालीन तथा तत्कालीन व्यवस्थापनमा सम्बन्धित निकायको प्रभावकारी ध्यान पुग्न नसकेको यात्रु तथा सवारी चालकहरूको गुनासो छ। सडक अवरुद्ध हुँदा वर्षेनी यात्रु र सवारीसाधनले सास्ती खेप्दै आए पनि समस्या समाधानका लागि आवश्यक पूर्वतयारी र तत्काल उद्धार संयन्त्र प्रभावकारी देखिएको छैन।
त्यसमाथि भेरी करिडोरको कार्यालय जाजरकोटमा रहेकाले डोल्पा खण्डमा उत्पन्न हुने सडक समस्या तत्काल सम्बोधन गर्न थप कठिनाइ हुने गरेको स्थानीय पुर्णकेशर न्याैपानेले बताए । डोल्पामा कार्यालय तथा प्रभावकारी प्राविधिक संयन्त्र नहुँदा सामान्य पहिरो हटाउनसमेत लामो समय लाग्ने र यात्रुहरू घण्टौँ तथा दिनौँसम्म अलपत्र पर्ने अवस्था दोहोरिँदै आएको छ।
डोल्पालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको भेरी करिडोरमा वर्षेनी दोहोरिने सडक अवरोध र यात्रुको सास्तीप्रति सम्बन्धित कार्यालयको उदासीनताले नागरिकमा आक्रोश बढ्दै गएको छ। सडक निर्माण र ठेक्का व्यवस्थापनमा मात्र सीमित नभई सडक सञ्चालन, तत्काल मर्मत तथा आपत्कालीन व्यवस्थापनमा समेत जिम्मेवार निकाय गम्भीर बन्नुपर्ने माग गरिएको छ।

तपाईको प्रतिक्रिया