ताजा समाचार

नगरपालिकाकाे बेवास्ताले मसानघाटको बाटो बन्द, आक्रोशित युवाद्वारा १५ दिने अल्टिमेटम

विष्णुप्रसाद देवकोटा

डाेल्पा।जनप्रतिनिधिको चरम बेवास्ताका कारण त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित परम्परादेखि प्रयोग हुँदै आएको मसानघाट जाने सार्वजनिक बाटो अवरुद्ध प्रति स्थानीय युवाहरू आक्रोशित बनेका छन्।
त्रिपुरासुन्दरी युवा नागरिक मञ्चले नगरपालिकालाई कडा भाषामा पत्र बुझाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयमा नगरपालिका नेतृत्व गैरजिम्मेवार बनेको आरोप लगाएको छ।

दुई वर्ष अघि विद्युत् सब–स्टेसन निर्माणका क्रममा बन्द भएको बाटो खुलाउन पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीय टंकप्रसाद उपाध्यायले गुनासो पाेखे ।
मञ्चका अनुसार सयौं घरधुरीले पुस्तौंदेखि प्रयोग गर्दै आएको उक्त मसानघाटमा मृतकको अन्त्येष्टि गर्न शव बोकेर जोखिमपूर्ण र साँघुरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।

तर जनप्रतिनिधिहरू विकासका ठूला भाषणमा व्यस्त रहँदा नागरिकको आधारभूत आवश्यकता र धार्मिक–सांस्कृतिक अधिकारमाथि भइरहेको हस्तक्षेपप्रति मौन बसेको आरोप लगाइएको छ।
युवा मञ्चले नगरपालिकालाई पत्र प्राप्त भएको मितिले १५ दिनभित्र मसानघाट जाने बाटो निर्माण गरी सहज आवागमनको व्यवस्था गर्न माग गरेको छ।

तोकिएको अवधिभित्र समस्या समाधान नभए सम्बन्धित पदाधिकारी तथा कर्मचारीविरुद्ध कानुनी र विभागीय कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी समेत दिइएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु कुवांरले आफुले जतिसक्दो बैकल्पिक ब्यवस्थापन सहितकाे समस्या समाधानमा लागि पर्ने बताएकाे ध्यानाकर्षण पत्र बुझाउन पुगेका स्थानीयले बताए ।
पत्रमा सार्वजनिक सम्पत्ति र धार्मिक आस्थासँग जोडिएको मसानघाटको पहुँच सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भए पनि नगरपालिकाले जिम्मेवारीबाट पन्छिने काम गरेको उल्लेख गरिएको छ।
विकास निर्माणका नाममा बाटो बन्द गरिए पनि वैकल्पिक व्यवस्था नगर्नु स्थानीय सरकारको गम्भीर लापरबाही भएको युवाहरूको निष्कर्ष छ।
युवा मञ्चले अबको १५ दिनभित्र मसानघाट जाने बाटो निर्माण गरी सहज आवागमनको व्यवस्था नगरे कानुनी उपचार, विभागीय उजुरी तथा थप दबाबमूलक कार्यक्रम अघि बढाउने मन्चका अध्यक्ष हमालले चेतावनी दिएका छन।
स्थानीयले उठाएको यो प्रश्न केवल बाटोको मात्र नभई जनप्रतिनिधिको जवाफदेहिता र स्थानीय सरकारको संवेदनशीलताको परीक्षा बनेको छ।

नागरिकको दुःख र पीडाप्रति उदासीन रहने प्रवृत्ति नरोकिए जनआक्रोश अझ चर्किने नागरिक मन्चका अध्यक्ष पुर्ण हमालकाे भनाई छ ।

तपाईको प्रतिक्रिया