ताजा समाचार

बुम र क्यामेराको आडमा भ्यूजको खेती: सरकारी कार्यालयमा पत्रकारहरुको स्टन्टबाजी कहिलेसम्म ?

अहिले नेपाली सञ्चार क्षेत्र एउटा गम्भीर संक्रमणकालबाट गुज्रिरहेको छ। हात हातमा क्यामेरा, मोबाइल र ‘बुम’ बोक्ने बित्तिकै जोसुकैले आफूलाई पत्रकार घोषणा गर्ने र जस्तोसुकै अराजक व्यवहार गर्न पाउने आत्म केन्द्रित मानसिकता बजारमा मौलाएको छ। सामाजिक सञ्जालमा ‘लाइक’, ‘सेयर’, र ‘डलर’ कमाउने धुनमा पत्रकारिताको न्यूनतम मूल्य–मान्यता, आचारसंहिता र मर्यादालाई चटक्कै बिर्सिएर सरकारी कार्यालयहरूमा आतङ्क सिर्जना गर्ने प्रवृत्ति पछिल्लो समय निकै डरलाग्दो गरी बढेको छ।

विगतमा करिब एक दशक पत्रकारिताको मैदानमा पसिना बगाएर हाल सरकारी सेवामा समर्पित भई नागरिकको काममा खटिरहँदा, केही दिनअघि मेरो आफ्नै कार्यकक्षमा एउटा यस्तै बुम र क्यामेरा आतङ्क हुन पुग्यो ।

विगतमा करिव १२ वर्षसम्म सक्रिय रूपमा पत्रकारिता गरेको¸ पत्रकारिता विषयमै डिग्री पास गरेको र कलेजहरूमा पत्रकारिता विषय अध्यापनसमेत गराउँदै आएको म पत्रकारिता क्षेत्रमा काम गर्दा गर्दै लोक सेवा उत्तीर्ण भई लेखा अधिकृत पदमा सिफारिस भए । सार्वजनिक प्रशासनमासमेत करिव ७ वर्षको अनुभव हासिल गरेकाले पत्रकारिता क्षेत्र र सार्वजनिक प्रशासनको क्षेत्र दुवैको मर्यादा, ‘इथिक्स’ र संवेदनशीलताबारे केहिहदसम्म बुझ्ने अवसर पाएको छु।

सार्वजनिक संयन्त्रमा जोडिएता पनि सार्वजनिक प्रशासन सँगै आजपर्यन्त पत्रकारिता पेसाप्रतिको नशा उस्तै ताजा अनि जिवितै छ । पत्रकारिताप्रतिको माया¸ लगाव र यस क्षेत्रको उज्ज्वल भविष्य खोज्ने पात्रमध्येको एक म पनि हो । तसर्थ पत्रकारिता क्षेत्रमा पछिल्लो समय देखिएको निराशाजनक प्रवृत्ति र आफैले भोग्नुपरेको नियतिका कारण यो लेख तयार पारेको छु ।

पत्रकारिता क्षेत्र र सार्वजनिक प्रशासनको क्षेत्रका आ- आफ्नै नियम¸ विधि आचारसंहिता¸ मर्यादा र व्यावसायिकता छन् । पत्रकारिताले मुलुकको शासन सञ्चालनका सन्दर्भमा बलियो प्रतिपक्षी भएर समाजको ऐनाको रूपमा काम गर्ने हो । यसो भनिरहँदा आफ्नो सामान्य आचारसंहिता र मर्यादा विपरीत रहेर समाज त्रसित हुने गरी पत्रकारिता गर्नु अपराध हो ।

आजभोलि प्रविधिको दुरुपयोग गर्दै ‘भ्यूज’ र ‘डलर’का लागि पत्रकारिताको आवरणमा जुन अराजकता फैलाइएको छ, त्यो वास्तवमै चिन्ताजनक छ।युट्युब र फेसबुकबाट आउने डलरको लोभमा पत्रकारिताको ‘वाचडग’ भूमिका भुलेर धेरैजसो ‘भ्यूजडग’ बनेका छन् । जति सनसनीपूर्ण भिडियो भयो, उति धेरै पैसा आउने भएपछि समाजलाई उत्तेजित बनाउने, साम्प्रदायिक सद्भाव भड्काउने र मानमर्दन गर्ने सामग्रीहरूको बाढी आएको छ । यसले गर्दा अहोरात्र खटेर व्यावसायिक पत्रकारिता गर्नेहरूको साख समेत धमिलिएको छ ।

कठिन संक्रमणकालीन मोडमा उभिएको नेपाली पत्रकारिता क्षेत्रलाई सभ्य¸मर्यादित¸विश्वसनीय र व्यावसायिक बनाउने सवालमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले खेलेको भूमिका अझै पर्याप्त देखिएको छैन ।

प्रविधिको ‘बुम’ नेपाली पत्रकारिताका लागि वरदान हो, तर यसको आडमा मौलाएको क्यामेराको ‘आतङ्क’ अभिशाप हो। पत्रकारिताको हतियार सत्यको खोजी र समाजको हितका लागि सोझिनुपर्छ, कसैको बेइज्जती गरेर भ्यूज कमाउनका लागि होइन। अभिव्यक्ति स्वतन्त्रताको नाममा उच्छृङ्खलता र अराजकतालाई प्रश्रय दिन सकिँदैन। बेलैमा यस विकृतिलाई नसच्याउने हो भने, यसले चौथो अंगप्रतिको जनविश्वास मात्र गुमाउने छैन, सिङ्गो समाजलाई नै विकृत बनाउनेछ ।

लेखक दंगीशरण गाउँपालिका दाङमा लेखा अधिकृत पदमा कार्यरत छन् । यति वेला उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ)

तपाईको प्रतिक्रिया