डोल्पा–रुकुम पश्चिम सिमानास्थित त्रिवेणी क्षेत्रमा केही अराजक युवाहरूको दादागिरी बढ्दै गएको पाइएको छ। सार्वजनिक आवागमन भइरहेकाे बाटोमा जबर्जस्ती बाईक रोकेर चाबी खोस्ने, कब्जामा लिने र धम्की दिने जस्ता गतिविधि बढ्दै जाँदा स्थानीय स्तरमा सुरक्षा चिन्ता गहिरिँदै गएको छ।
बैशाख ६ गते एभिन्युज टेलिभिजनका डोल्पास्थित संवाददाता रिपोर्टिङका क्रममा मुड्केचुला गाउँपालिका जाँदै गर्दा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ त्रिवेणी क्षेत्रमा यस्तो घटनाको सामना गर्नुपरेको हो।
ह्युमपाइप पार गरी डाेल्पा कालिका क्षेत्रतर्फ जाँदै गरेका बेला ३/४ जनाको समूह अचानक आएर “निजी जग्गामा सवारी चलाउन पाइदैन हाम्रो जग्गामा किन बाईक चलाइयाे” भन्दै आक्रामक शैलीमा अपशब्द प्रयोग गर्दै बाईकको चाबी खोसेर नियन्त्रणमा लिएको जनाइएको छ।
उक्त समूहको नेतृत्व स्थानीय पुष्पा होटलका सञ्चालक डिल्ली बोहराका छोरा नवीन बोहराले गरिरहेकाे पाइएको छ। सो समूहले हालसम्म कम्तीमा ६ वटा बाईकका चाबी खोसेर नियन्त्रणमा लिएको र ती बाईकहरू जोखिमपूर्ण स्थानमा बेवारिस अवस्थामा राखिएको भेटिएको छ।
स्थानीयका अनुसार करिब दुई वर्षअघि मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले उक्त क्षेत्रमा बाटो प्रयोग गर्न मौखिक सहमतिमा ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने सर्तमा मार्ग खुलाइएको थियो।
त्यसयता सो बाटो हुँदै दैनिक रूपमा साना–ठूला सवारी सञ्चालन हुँदै आएका थिए। तर पछिल्लो समय सोही सहमतिलाई आधार बनाएर केही व्यक्तिहरूले एकतर्फी रूपमा बाटो अवरुद्ध गर्ने र सवारी नियन्त्रणमा लिने काम गर्दै आएका छन्। तर उनिहरुले आफ्नो जग्गामा नत छेकेवार लगाछन नत उनिहरुले बाटो बन्दकाे सुचना नै राखेका छन ।डाेल्पा मुड्केचुला पालिका अध्यक्ष शाहीले आफुले सहमति अनुरुपको रकम दिन सहमत भएकाे तर जग्गाको लालपुर्जा लिएर आउनुहाेस भन्दा नल्याएपछि कागज विना रकम दिन नसकिएकाे बताए ।उनले भने” जग्गा सायद नापि नभएकाे हुनु पर्छ यदि नापि भएकाे भए लालपुर्जाकाे फाेटाेकपि ल्याएर आउथे हाेला ।”
बैशाख ५ गते मुड्केचुला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम महतारा सोही बाटो हुँदै जाँदा पनि सो समूहले बाईक नियन्त्रणमा लिएको बताइएको छ। उनीहरूले “कुनै पनि क्षतिपूर्ति भए जिम्मेवार नहुने” भन्दै चाबी फिर्ता नदिने र सिडियो, डिएसपी जो आए पनि नछाड्ने धम्की दिने गरेका छन्।
घटनापछि पत्रकार विष्णुप्रसाद देवकोटाले जिल्ला प्रहरी कार्यालय डोल्पामा निवेदन दिँदै संलग्न व्यक्तिहरूलाई बाईकसहित झिकाई सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न र बाईकमा क्षति पुगेको पाइए क्षतिपूर्ति दिलाउन माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी रुकबहादुर खड्काले निवेदन प्राप्त भएको पुष्टि गर्दै घटनाबारे तत्काल आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार त्रिवेणी क्षेत्र भौगोलिक रूपमा दुर्गम र प्रशासनिक पहुँचभन्दा टाढा रहेकाले त्यहाँ स्थायी रूपमा सुरक्षाकर्मीको उपस्थिति छैन। यही कमजोरीको फाइदा उठाउँदै केही युवाहरूले बारम्बार यस्ता दादागिरीपूर्ण गतिविधि गर्दै आएको आरोप छ।
रुकुम पश्चिम, जाजरकोट र डोल्पाको संगमस्थलका रूपमा रहेको त्रिवेणी क्षेत्र भेरी करिडोर सडकखण्डमा पर्ने संवेदनशील बिन्दु हो। यहाँ संयुक्त सुरक्षा पोष्ट स्थापना गरी निगरानी बढाउन नसके यस्ता घटनाहरू दोहोरिनुका साथै भविष्यमा गम्भीर आपराधिक गतिविधि हुन सक्ने जोखिम रहेको स्थानीयको चिन्ता छ।
समयमै सम्बन्धित निकायले ध्यान नदिए त्रिवेणी क्षेत्र असुरक्षित बन्दै जाने संकेत देखिएकाले प्रभावकारी सुरक्षा व्यवस्थापनतर्फ तत्काल पहल आवश्यक देखिएको छ।

डोल्पा न्यूज । ९ बैशाख २०८३, बुधबार २२:१९