विष्णुप्रसाद देवकोटा
डोल्पाको समग्र र दिगो विकासलाई लक्षित गर्दै जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाको नेतृत्वमा अर्बौं रुपैयाँ बराबरकाे ‘डेभलपमेन्ट प्याकेज’सहितकाे महत्त्वाकांक्षी पूर्वाधार योजना माग गरिएको छ।
बुधबार सांसद बुढासहित जिल्लाका विभिन्न सरोकारवाला निकायहरूको संयुक्त टोलीले संघीय भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसमक्ष आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सडक, खानेपानी, शहरी विकास, आवास लगायतका ठूला परियोजनाहरू समेटिएको विस्तृत प्रस्ताव पेश गरेको हो।
प्रस्ताव अनुसार जगदुल्ला गाउँपालिकाको कोटछाँचुमा एकीकृत बस्ती पूर्वाधार निर्माण (सडक, खानेपानी, खेलमैदान, स्वास्थ्य भवन) तथा डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रमा बस्ती विकास र तिन्जेलाई हिमाली शहरका रूपमा विकास गर्न ५० करोड रुपैयाँ बजेट माग गरिएको छ। साथै सुरक्षित नागरिक आवास कार्यक्रमसमेत समेटिएको छ।
त्यसैगरी, ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा टाउन प्लानिङ अध्ययनका लागि ५ करोड रुपैयाँ तथा तिप्ला वृहत्त खानेपानी र ढल निकास आयोजनासहित अन्य स्थानमा ढल व्यवस्थापनका लागि १० करोड रुपैयाँ माग गरिएको छ।
सडक पूर्वाधारतर्फ भेरी करिडोर (उत्तर–दक्षिण सडक) अन्तर्गत त्रिपुराकोट–दुनै–ल्हासिक्याप सडक स्तरोन्नति तथा कालोपत्रेका लागि २ अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ। ल्हासिक्याप–सिसोल–धो खण्ड (करिब ३३ किमी) निर्माणका लागि १ अर्ब तथा तल्लुवगर–त्रिवेणी–त्रिपुराकोट–दुनै खण्डमा मोटरेबल पुल निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ माग गरिएको छ।
यसका साथै मुस्ताङ–डोल्पा सडक, पूर्वी रुकुम हुँदै दुनै जोड्ने सडक, विभिन्न स्थानमा ट्रयाक खोल्ने, पुल निर्माण गर्ने तथा रिङरोड विस्तारका लागि समेत अर्बौं रुपैयाँ बराबरका योजना प्रस्ताव गरिएको छ। डोल्पोबुद्ध गाउँपालिकामा सुख्खा बन्दरगाह निर्माणका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गर्नसमेत माग गरिएको सांसद बुढाले जानकारी दिए।
सांसद बुढाले डोल्पाको दुर्गम भूगोल, सीमित पूर्वाधार र बढ्दो विकास आवश्यकतालाई मध्यनजर गर्दै यी योजना अत्यावश्यक रहेको बताए। उनका अनुसार मन्त्रालयमा औपचारिक रूपमा पेश गरिएको प्रस्तावप्रति मन्त्री सुनील लम्सालले सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी बजेटमा समेट्ने आश्वासन दिएका छन्।
डोल्पाका लागि प्रस्तुत यी योजनाहरू कार्यान्वयनमा आएमा जिल्लाको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा काेशे ढुङ्गा सावित हुुुने छ ।

डोल्पा न्यूज । ९ बैशाख २०८३, बुधबार १८:०२