डाेल्पा दुनैस्थित एक विद्यालयमा अध्यानरत साना बालबालिकाले उदाहरणीय श्रमदान गर्दै समाजलाई गहिरो सन्देश दिएका छन्। जिल्ला प्रशासन कार्यालयकै प्रवेशद्वार अगाडि सडक जलमग्न हुँदा बालमन्दिर आधारभूत विद्यालय दुनैमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीले आफैं ढुङ्गा र माटो बोकेर सडक सफा गरेका हुन्।
खानेपानी पाइपबाट भइरहेको चुहावटका कारण प्रशासन गेट, डिभिजन वन कार्यालय, जिल्ला अदालत परिसर हुँदै नेपाल टेलिकम कार्यालयको पूर्व पर्खालसम्मको सडक लामो समयदेखि हिलाम्मे र जलमग्न बनेको थियो। सडक बिग्रँदा साना बालबालिका, शिक्षक–शिक्षिका तथा सर्वसाधारणलाई आवतजावतमा निकै सास्ती खेप्नुपरेको थियो। कतिपय अवस्थामा पर्खालमा लगाइएको काँडे तार समातेर हिँड्नुपर्दा बालबालिका तथा पैदलयात्री घाइते हुने जोखिमसमेत रहेको थियो।
यही समस्या देखेर बालबालिकाले आफैं श्रमदान गर्दै सडकमा ढुङ्गा–माटो हालेर हिँड्न योग्य बनाएका छन्। विद्यालयकी प्रधानाध्यापक अम्बिका हमालका अनुसार लामो समयसम्म समस्या समाधान नभएपछि बालबालिकाले स्वस्फूर्त रूपमा सडक मर्मतमा जुटेका हुन्।
सम्बन्धित निकायले भने पाइप चुहावट र सडक व्यवस्थापनतर्फ समयमै ध्यान नदिँदा बजारक्षेत्रमा पाइपलाइन अस्तव्यस्त रहेकाे स्थानीयको गुनासो छ। सदरमुकामकै विभिन्न स्थानमा यस्तै समस्या दोहोरिँदा पनि प्रभावकारी समाधान हुन सकेको देखिदैन ।
साना बालबालिकाको यो पहलले केवल सडक मात्र होइन, जिम्मेवारी र सचेतनाको बाटो पनि सफा बनाएको छ। उनीहरूको श्रम र सन्देशले सम्बन्धित निकायलाई अझै पनि नझक्झक्याउने हो भने, त्यो समाजकै लागि दुर्भाग्यपूर्ण हुनेछ।दुनै खानेपानी ब्यवस्थापन समितिले भने आफ्नाे लाइनकाे पाइप कुनै पनि ठाउँमा चुहावट नभएकाे जनाएकाे छ ।तिप्ला खाेलाबाट निजि ब्यक्ति वा भदालेस्थित नेपाली सेनाकाे ब्यारेकले समेत पानी पाइप लाइन ल्याएर प्रयाेग गरिरहेकाले यसतर्फ सम्बन्धित पक्षकाे ध्यान पुग्न जरुरी छ ।

डोल्पा न्यूज । ८ बैशाख २०८३, मंगलवार १४:५१