ताजा समाचार

जन्मदिनमा फजुल खर्च होइन, अपाङ्ग बालबालिकाको मुहारमा मुस्कान

विष्णुप्रसाद देवकोटा
डोल्पा । जन्मदिन मनाउने नाममा तामझाम र अनावश्यक खर्च गर्ने प्रवृत्ति बढिरहेका बेला ठुलीभेरी नगरपालिका–३, दुनै निवासी दिलमाया (दिलु) केसीले भने फरक र अनुकरणीय ढंग रोजेकी छन्।
केसीले आफ्नो जन्मदिन मुकुटेश्वर अपाङ्ग सेवा समितिमा आश्रित २२ जना बालबालिकासँग खुसी साटेर मनाएकी हुन्। उनले बालबालिकालाई कापी–कलम प्रदान गरिन्। त्यसपछि उनीहरूकै अगाडि केक काटेर खाजा खुवाउँदै जन्मदिनको उत्सव मनाइन्।
केसीले समितिमा आश्रित तीन जना महिलाका लागि करिब तीन वर्षसम्म पुग्ने गरी सेनेटरी प्याडसमेत सहयोग गरेकी छन्।
जन्मदिनको खुसी आफ्नै लागि मात्र सीमित नगरी असहाय तथा अपाङ्गता भएका बालबालिकाको शिक्षा र आवश्यकतासँग जोड्दै केसीले सामाजिक उत्तरदायित्वको अर्थ व्यवहारमै देखाएकी हुन्।
ठूला होटल तथा महँगा जमघटमा खर्च गरेर जन्मदिन मनाउने प्रचलन मौलाइरहेका बेला केसीको रोजाइ भने बिल्कुल फरक रह्यो। उनले आफ्ना लागि खर्चिने रकमबाट बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिन्। उनीहरूसँगै बसेर केक काटिन्। खाजा खुवाइन्। अनि बालबालिकाको अनुहारमा फुलेको मुस्कानसँगै आफ्नो जन्मदिनको खुसी अनुभूत गरिन्।

‘जन्मदिन आफैँ खुसी हुने दिन मात्र होइन, अरूको अनुहारमा खुसी ल्याउने अवसर पनि हो’ भन्ने सन्देश केसीको कर्मले दिएको छ।
उनको यो पहलले जन्मदिनको उत्सवलाई व्यक्तिगत तडकभडकबाट सामाजिक सेवातर्फ मोड्ने सन्देशसमेत दिएको छ। सानो सहयोगले पनि कसैको शिक्षामा टेवा पुग्न सक्छ। कसैको आवश्यकतामा राहत मिल्न सक्छ। र, सबैभन्दा ठूलो कुरा—कसैको अनुहारमा मुस्कान ल्याउन सकिन्छ।
दिलु केसीले यसपटक जन्मदिन मनाइनन् मात्र, असहाय बालबालिकाको मुस्कानमा आफ्नो खुसी खोजिन्।

तपाईको प्रतिक्रिया