ताजा समाचार

त्रिपुराकोटमा ५५ लाखसहित पक्राउ परेकामाथि अनुसन्धान गर्न ५ दिनको म्याद

विष्णुप्रसाद देवकोटा
डोल्पाको त्रिपुराकोटमा संयुक्त सुरक्षा चेकजाँचका क्रममा ५५ लाख ९० हजार रुपैयाँ नगदसहित पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत डोल्पाले पाँच दिनको म्याद दिएको छ।
बुधबार त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट बगर बजार क्षेत्रमा जिल्ला प्रहरी कार्यालय डोल्पा, सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रशासन कार्यालयको समन्वयमा गरिएको आकस्मिक सुरक्षा चेकजाँचका क्रममा त्रिपुरासुन्दरी नगरपालिका–७ का दुई जनाको साथबाट उक्त नगद बरामद गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धानका लागि जिल्ला अदालत डोल्पाबाट पाँच दिनको म्याद प्राप्त भएको छ।
उनका अनुसार बरामद रकमको स्रोत, वैधानिकता, प्रयोगको उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ।
डीएसपी गिरीले भने, “जिल्ला अदालतबाट पाँच दिनको म्याद प्राप्त भएको छ। बरामद रकमको स्रोत र कानुनी हैसियतबारे विस्तृत अनुसन्धान जारी छ। अनुसन्धान सम्पन्न भएपछि थप विवरण सार्वजनिक गरिनेछ।”
यता, घटनापछि सामाजिक सञ्जालमा भने प्रहरीको कारबाहीप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। केही सर्वसाधारणले पक्राउ परेका व्यक्तिहरू विगतदेखि यार्सागुम्बालगायत जडीबुटी व्यापारमा संलग्न व्यापारी भएको दाबी गर्दै यार्सा कारोबारको मौसममा लाखौं रुपैयाँ नगद कारोबार सामान्य हुने बताएका छन्।

साथै आर्थिक वर्षको अन्त्यतिर विभिन्न विकास योजनाको भुक्तानी रकमसमेत नगद रूपमा ओसारपसार हुने भएकाले पर्याप्त आधारबिना नागरिकलाई नियन्त्रणमा लिएर दुःख दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
यद्यपि, सामाजिक सञ्जालमा व्यक्त भएका यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्। बरामद रकमको वास्तविक स्रोत, वैधानिकता र प्रयोगको उद्देश्यबारे अनुसन्धान जारी रहेकाले घटनाको निष्कर्ष अनुसन्धान प्रतिवेदनपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।बुधवारस्राेत नखुलेको रकम साथमा बाेकेकाे आराेपमा त्रिपुराकाेट बजार क्षेत्रवाट त्रिपुरासुन्दरी -७ का विष्णुलाल केसी र भक्तचन्दर राेकाया पक्राउ परेका थिए  ।

तपाईको प्रतिक्रिया