ताजा समाचार

डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजारसहित पक्राउ परेका दुई जनाको परिचय खुल्यो

विष्णुप्रसाद देवकोटा
डोल्पा।
हिमाली जिल्ला डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित पक्राउ परेका दुई जनाको परिचय खुलेको छ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटमा बुधबार गरिएको संयुक्त सुरक्षा चेकजाँचका क्रममा सदरमुकाम दुनैबाट छलतर्फ जाँदै गरेको भे १३ प ९२६५ नम्बरको मोटरसाइकलमा सवार त्रिपुरासुन्दरी नगरपालिका–७, छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तीचन्द्र रोकायलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विनयकुमार सिंहका अनुसार उनीहरूको साथबाट स्रोत खुलाउन नसकिएको ५५ लाख ९० हजार रुपैयाँ नगद बरामद भएको छ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रतिनिधिको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म मुख्यालय डोल्पाको २१ सदस्यीय संयुक्त सुरक्षा टोलीले नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।
बरामद गरिएको नगदसहित दुवै जनालाई कानुनबमोजिम नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

तपाईको प्रतिक्रिया