
भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुराकोटस्थित भेरी नदीसहित १३ वटा पक्की पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको छ। लामो समयदेखि पुल अभावका कारण वर्षायाममा अवरुद्ध हुँदै आएको जाजरकोट–डोल्पा सडकखण्डलाई वर्षैभरि सञ्चालनयोग्य बनाउने लक्ष्यका साथ भेरी करिडोर आयोजना कार्यालयले बुधबार निर्माण प्रक्रिया अघि बढाएको हो।
आयोजनाका प्रमुख नरेशप्रसाद केशरीका अनुसार जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने जाजरकोटका खहरे खोला, रुकुम पश्चिमका चिसापानी, घट्टेखोला, रिजीगाड खोला, उसुम खोला र मनका खोला, तथा डोल्पाका करवगाड खोला, चुगाड खोला, गल्लीगाड खोला, रूपगाड खोला, खार खोला, त्रिपुराकोटस्थित भेरी नदी र दुनै–काइके सडकखण्डअन्तर्गत जैरिगाड जलविद्युत् आयोजनाको पावरहाउस नजिक ठूलीभेरी नदीमा पक्की पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको हो।
उनका अनुसार अर्थ मन्त्रालयले केही महिनाअघि पुल निर्माणका लागि अर्बौं रुपैयाँको स्रोत सुनिश्चित गरेपछि निर्माण प्रक्रिया अगाडि बढाइएको हो। पुल निर्माण हुन बाँकी रहेका सबै स्थानमा क्रमशः काम सुरु गरिने उनले बताए।
२०७५ सालमै डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि आवश्यक पुल निर्माण नहुँदा भेरी करिडोर अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। जाजरकोटदेखि सदरमुकाम दुनैसम्म सडक ट्र्याक खुले पनि वर्षायाममा खोलानालामा पानी बढ्दा यातायात पटक–पटक अवरुद्ध हुँदै आएको छ।
यस्तै, करिडोरअन्तर्गत दुनैदेखि माथिल्लो डोल्पाको धो, तिन्जे र मरिम सडक निर्माण अझै अधुरै छ। दुनै–लासिक्याप खण्डमा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लासिक्याप–सिसौल सडक निर्माणसमेत प्रभावित बनेको छ।
स्थानीयवासीले १३ पुल निर्माण प्रक्रिया सुरु भएसँगै वर्षायाममा हुने आवागमनको समस्या उल्लेखनीय रूपमा घट्ने र लामो समयदेखि प्रतीक्षामा रहेको भेरी करिडोरले पूर्णता पाउने विश्वास व्यक्त गरेका छन्।
त्रिदेशीय व्यापार तथा हिमाली जिल्लाको आर्थिक–सामाजिक विकासका दृष्टिले रणनीतिक महत्त्व बोकेको भेरी करिडोर डोल्पाको प्रमुख जीवनरेखा मानिन्छ। यी पुलहरूको निर्माणले करिडोरलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन महत्त्वपूर्ण आधार तयार हुने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । ३१ असार २०८३, बुधबार ०९:४३