विष्णुप्रसाद देवकोटा
त्रिपुरासुन्दरी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका भेडा तथा बाख्रा पकेट कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न सर्वपक्षीय अनुगमनलाई तीव्रता दिएको छ।
संघीय सरकारबाट प्राप्त सशर्त बजेटअन्तर्गत सञ्चालित कार्यक्रम वास्तविक कृषकसम्म पुगेको छ कि छैन भन्ने बुझ्न नगरपालिकाले विभिन्न वडामा स्थलगत अनुगमन गरेको हो।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थानेश्वर पनेरुका अनुसार अनुदान कार्यक्रमको प्रभावकारी कार्यान्वयन र दीर्घकालीन प्रतिफल सुनिश्चित गर्न अनुगमन पक्षलाई सुदृढ बनाइएको हो।
“कार्यक्रम सञ्चालन मात्र गरेर हुँदैन, त्यसको उपलब्धि पनि देखिनुपर्छ। कृषकको आयआर्जनमा वास्तविक सुधार ल्याउन आगामी दिनमा अनुगमनलाई अझ चुस्त र प्रभावकारी बनाइनेछ,” पनेरुले बताए।
भेडा तथा बाख्रा पकेट कार्यक्रम स्थानीय स्रोत, चरन क्षेत्र, भौगोलिक अवस्था तथा कृषकको रुचिलाई आधार बनाएर सञ्चालन गरिएको नगर पशु सेवा शाखा प्रमुख प्रदीप बाबु ढकालले बताए ।
व्यक्तिगतभन्दा सामूहिक र व्यावसायिक पशुपालनलाई प्राथमिकतामा राख्दै कार्यक्रम कार्यान्वयन गरिएको उनकाे भनाई छ।
डोल्पाको हावापानी र चरन क्षेत्र भेडा तथा बाख्रा पालनका लागि उपयुक्त छन्। कृषकलाई आत्मनिर्भर बनाउने, मासु उत्पादन बढाउने र भेडाको ऊनबाट समेत आम्दानी सिर्जना गर्ने उद्देश्यले पकेट कार्यक्रम सञ्चालन गरिएको हो। अनुगमनबाट कार्यक्रमको वास्तविक अवस्था बुझ्न र आवश्यक सुधारका लागि मार्गनिर्देशन गर्न सहज भएको छ,” ढकालले भने।
नगर पशु सेवा शाखाका अनुसार त्रिपुरासुन्दरी नगरपालिका–३, ४, १० र ११ नम्बर वडामा पाइलट कार्यक्रमका रूपमा सामूहिक भेडा तथा बाख्रा पालन प्रवर्द्धन गर्न प्रति समूह २५ वटा भेडी, २ वटा साँढे भेडा, २५ वटा बाख्रा र २ वटा बोका वितरण गरिएको छ।
कार्यक्रममा नगरपालिकाको ५० प्रतिशत अनुदान लगानी रहेको छ।मासुको बढ्दो माग पूर्ति गर्नुका साथै भेडाको ऊनबाट समेत अतिरिक्त आम्दानी हुने अपेक्षासहित कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
वडा नम्बर ४ स्थित रमिता फलफूल जडीबुटी उत्पादन तथा पशुपालन कृषक समूहका सदस्य कृषकले नगरपालिकाको सहयोगले व्यवसाय विस्तार गर्न सहज भएको कृषक चाउराे विकले बताएको ।
“हामीले आफ्नै लगानीले यति धेरै पशु खरिद गर्न सक्ने अवस्था थिएन। नगरपालिकाको अनुदानले व्यवसायिक रूपमा पशुपालन सुरु गर्न ठूलो हौसला दिएको छ,” उनले भने।
त्यस्तै वडा नम्बर ३ को चौतारा कृषि तथा पशुपालन कृषक समूहका अर्का कृषकले सामूहिक पशुपालनबाट राम्रो आम्दानीको सम्भावना देखिएको बताए।
“पहिले परम्परागत रूपमा केही पशु मात्र पाल्थ्यौं। अहिले समूहमा आबद्ध भएर व्यवसायिक रूपमा काम गरिरहेका छौं। उत्पादन बढेसँगै आम्दानी पनि बढ्ने विश्वास छ,।
अनुगमन टोलीले वडा नम्बर ४ का रमिता फलफूल जडीबुटी उत्पादन तथा पशुपालन कृषक समूह, सन्तोष जडीबुटी ताजा तरकारी फलफूल उत्पादन तथा पशुपालन कृषक समूह, वडा नम्बर ३ को चौतारा कृषि तथा पशुपालन कृषक समूह, तारा कृषि जडीबुटी खेती बिरुवा उत्पादन तथा पशुपालन महिला कृषक समूह तथा चिसापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लगायत वडा नम्बर ९ को चु र वडा नम्बर १० को मुहु क्षेत्रमा सञ्चालित कार्यक्रमको स्थलगत अवलोकन गरेको थियो।
अनुगमनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत, पशु सेवा शाखा प्रमुख, वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी थिए।
विगतमा अनुगमनलाई कम प्राथमिकता दिएको भन्दै आलोचना खेप्दै आएको नगरपालिकाले यस वर्ष भने सर्वपक्षीय सहभागितासहित अनुदान कार्यक्रमको पारदर्शिता, प्रभावकारिता र दिगोपनामा विशेष जोड दिएको जनाएको छ।
डोल्पामा विभिन्न निकायबाट अनुदान कार्यक्रम ल्याएर कागजमै सीमित बनाउने प्रवृत्ति रहेको बेला त्रिपुरासुन्दरी नगरपालिकाले कार्यक्रमको प्रारम्भिक अवस्थादेखि नै अनुगमन गरेर समूहलाई जिम्मेवार, उत्तरदायी र परिणाममुखी बनाउन खोजेको पाइन्छ ।पछिल्लो समय नगर क्षेत्रमा व्यावसायिक भेडा तथा बाख्रा पालनतर्फ कृषकको आकर्षण बढ्दै गएको छ।

डोल्पा न्यूज । १८ जेष्ठ २०८३, सोमबार ०९:५९