ताजा समाचार

यौन शिक्षाको सकारात्मक रूपान्तरणतर्फ डोल्पाका किशोरीहरु

डोल्पा। पछिल्लाे समय यहाँका  विभिन्न  विद्यालयहरूमा अध्ययनरत किशोरीहरूमा यौन तथा प्रजनन स्वास्थ्यबारे उल्लेखनीय परिवर्तन देखिएको छ। पहिले यस्ता विषयमा बोल्न हिच्किचाउने छात्राहरू अहिले शिक्षक–शिक्षिकासँग खुलेर जिज्ञासा राख्ने र आवश्यक सामग्री, जस्तै महिनावारीका बेला ‘प्याड’समेत निर्धक्क माग्ने अवस्थामा पुगेका छन्।

त्रिपुरा माध्यमिक विद्यालयमा करिब १५० विद्यार्थी छन ती मध्ये आधाभन्दा बढी छात्रा छन्। दुई वर्षअघिसम्म महिनावारी, शारीरिक परिवर्तन वा यौनिक शिक्षाका विषयमा बोल्न गाह्रो मान्ने छात्राहरु यतिखेर भने खुलेरै राख्न थालेका छन । शिक्षकसँग नजिक हुन र प्रश्न सोध्नसमेत लजाउने  उनीहरू शिक्षक शिक्षिकासँग खुलेर संवाद गर्न सक्ने भएका छन्।

यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कक्षा, कार्यशाला र अतिरिक्त क्रियाकलापहरूले दिनप्रतिदिन  छात्राहरूको आत्मविश्वास बढाउदै लगेकाे छ। बालविवाह, महिनावारी व्यवस्थापन, उमेरसँगै हुने शारीरिक परिवर्तन र ‘ब्याड टच’ जस्ता विषयमा विद्यार्थीहरूले खुला रूपमा छलफल गर्न थालेका छन्।

छात्राहरू स्वास्थ्यसम्बन्धी समस्या मात्र होइन, संवेदनशील विषयहरू पनि विद्यालय प्रशासनसमक्ष राख्न थालेकाे बताउँछन्  प्रधानाध्यापक तुलबहादुर बिष्ट ।यौनजन्य हिंसा न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास प्रअ विष्टकाे छ।

सुरक्षित महिनावारी कक्ष निर्माण गरिनु, आरामका लागि बेड, टेबल–कुर्सी, औषधि, तौल नाप्ने मेसिन लगायत आवश्यक सामग्रीको व्यवस्थापनले किशोरी हरुलाई यस  रुपान्तरण अभियानमा सामेल हुन  समेत उनिहरुलाई थप हाैसाएकाे छ ।

डोल्पाका दुर्गम बस्तीहरूमा अझै महिनावारीसँग जोडिएका परम्परागत गलत धारणा—जस्तै महिनावारी हुँदा दूध नखाने, अरूलाई नछुने, घरदेखि टाढा बस्ने—जारी रहे पनि विद्यालयमार्फत सचेतना विस्तार हुँदै गएको छ। विद्यार्थीहरूले सिकेका ज्ञान घर–समाजसम्म पुर्‍याउने प्रयाससमेत भइरहेको छ।

पछिल्ला दुई वर्षदेखि जिल्लाका १९ विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य, बालविवाह र महिनावारी व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको  बताउँछन् समाज जागरण केन्द्रका परियोजना प्रमुख प्रेम सि। सुरक्षित महिनावारी कक्ष निर्माणसँगै विभिन्न सचेतनामूलक कार्यक्रममार्फत करिब १५ सय छात्राहरू प्रत्यक्ष लाभान्वित भएकाे उनकाे भनाइ  छ ।

विद्यालय केन्द्रित यस अभियानले किशोरीहरूमा आत्मविश्वास बढाउनुका साथै समाजमा रहेका कुरीति, कुसंस्कार र लैङ्गिक विभेद अन्त्य गर्नमा सहयाेग पुग्ने अपेक्षा गरिएकाे छ ।

तपाईको प्रतिक्रिया