विष्णुप्रसाद देवकोटा
हिमाली जिल्ला डोल्पाका त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकामा ५१ प्रतिशत बालविवाह र ९९ प्रतिशत प्रेम सम्बन्धबाट हुने एक अध्ययनले देखाएको छ।
अभिभावकले गराइदिने परम्परागत बालविवाह घट्दै गए पनि किशोर–किशोरीको स्वेच्छिक प्रेम सम्बन्धका कारण हुने बालविवाह तीव्र रूपमा बढिरहेको तथ्य सार्वजनिक भएको हाे।
बालविवाह विरुद्ध साझा अभियान सञ्जाल कर्णालीको सहकार्यमा त्रिपुरासुन्दरी नगरपालिकामा आयोजित “बालअधिकार संरक्षण तथा बालविवाह अन्त्यको मार्गचित्र” सम्बन्धी कार्यक्रममा सार्वजनिक गरिएको “त्रिपुरासुन्दरी नगरपालिकामा बालविवाहको अवस्था : सर्वेक्षण प्रतिवेदन–२०२५” ले डोल्पामा बालविवाह अझै गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको औँल्याएको हो।
प्लान इन्टरनेशनल नेपाल र समाज जागरण केन्द्र (स्याक)ले दुई नगरपालिकामा १६ डिसेम्बर २०२४ देखि १५ डिसेम्बर २०२५ भित्र रहेर गरेकाे अध्यायन प्रतिवेदन अनुसार सर्वेक्षणमा समेटिएका विवाहमध्ये ५१ प्रतिशत विवाह २० वर्ष नपुग्दै भएका छन्। त्यसमध्ये २८ प्रतिशत १८ वर्षभन्दा कम र २३ प्रतिशत १८–१९ वर्षको उमेरमा विवाह भएका छन्।
बालिकामा जोखिम अझ बढी देखिएको छ। ३३ प्रतिशत बालिका र २३ प्रतिशत बालक २० वर्ष नपुग्दै विवाह गरेको तथ्यांकले देखाएको छ।
अध्ययनको सबैभन्दा चिन्ताजनक पक्ष भनेको ९९ प्रतिशत बालविवाह किशोर–किशोरीको प्रेम सम्बन्धबाट भएको पाइएको हो। यसले डोल्पामा बालविवाहको प्रकृति परम्परागत व्यवस्थाबाट स्वनिर्णयमा आधारित सम्बन्धतर्फ मोडिएको संकेत गरेको छ।
प्रतिवेदनमा बालविवाह गरेका किशोरीमध्ये ३४ प्रतिशत गर्भवती भएको उल्लेख गरिएको छ। किशोरावस्थामै मातृत्व ग्रहण गर्दा आमा र शिशु दुवैको स्वास्थ्यमा गम्भीर जोखिम बढ्ने प्रस्तोताहरूले बताएका छन्।अध्यायनका अनुसार ठूलीभेरी नगरपालिकाको ४४ र त्रिपुरासुन्दरी नगरपालिकाको ५६ प्रतिशत रहेको छ।समग्रमा दुबै पालिकाको ५१ प्रतिशत रहेको हाे ।
अध्ययनले कानुनी कार्यान्वयन पनि कमजोर रहेको देखाएको छ। २० वर्षअघि विवाह गर्नेहरूमध्ये करिब ७५ प्रतिशतले विवाह दर्ता नगरेको तथा ६६ प्रतिशतले बालविवाहसम्बन्धी घटनाको औपचारिक उजुरी नगर्ने गरेको तथ्य सार्वजनिक गरिएको छ।
यो अध्ययन त्रिपुरासुन्दरी नगरपालिका र ठूलीभेरी नगरपालिकाका २०२ घरधुरी मा गरिएको थियो। सर्वेक्षणमा १०६ महिला र ९६ पुरुष सहभागी थिए। अध्ययन सन् २०२४ डिसेम्बरदेखि २०२५ फेब्रुअरीसम्म स्नोबल स्याम्पलिङ विधिबाट सञ्चालन गरिएको हो।
कार्यक्रममा नेपालको संविधान–२०७२, संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि , मुलुकी फौजदारी संहिता तथा दिगो विकास लक्ष्यले बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि गरेको कानुनी व्यवस्था प्रस्तुत गरिएको थियो। २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु वा गराउनु कानुनअनुसार दण्डनीय अपराध भएको पुनः स्मरण गराइयो।
अधिवक्ता रणबहादुर कार्की, सामाजिक विकास कार्यालय डोल्पाका रमेशबहादुर बुढा, त्रिपुरासुन्दरी नगरपालिकाकी महिला विकास शाखा प्रमुख शान्ति महतारा तथा स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठ ले बालविवाहको कानुनी कार्यान्वयन, वर्तमान चुनौती, दीर्घकालीन समाधान तथा किशोरावस्थामा गर्भधारण र घरमै सुत्केरी हुँदा हुने स्वास्थ्य जोखिमबारे प्रस्तुति दिएका थिए।
कार्यक्रमले सन् २०३० सम्म त्रिपुरासुन्दरीलाई बालविवाहमुक्त पालिका बनाउने लक्ष्यसहित प्रारम्भिक चरणमा बालविवाह न्यूनीकरणका लागि सामाजिक विकास शाखा संयोजक तथा वडा नं. ३ का अध्यक्ष भक्तबहादुर केसी को संयोजकत्वमा कार्यदल गठन गरेको छ।
त्यसैगरी नगरप्रमुख जनचन्द्र रोकाया, उपप्रमुख देवी घर्ती, प्रमुख प्रशासकीय अधिकृत राजु कुँवर, योजना शाखा प्रमुख डा. हेमन्त शाही तथा लेखा अधिकृत पूर्ण चौलागाईं सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरिएको अधिवक्ता रणबहादुर कार्कीले जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत राजु कुँवर ले त्रिपुरासुन्दरीमा बालविवाहको दर बढ्दो क्रममा रहनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै बालविवाहमुक्त समाज निर्माण नभएसम्म सुशासन र समृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताए।
उनले लक्ष्य प्राप्तिका लागि नगरपालिका समन्वय, सहकार्य, अनुगमन तथा आवश्यक स्रोत व्यवस्थापनमा पूर्ण प्रतिबद्ध रहने विश्वास व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि तयार गरिएको सामूहिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै बालविवाहमुक्त समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।

डोल्पा न्यूज । २८ असार २०८३, आईतवार २१:०८