विष्णुप्रसाद देवकोटा
डोल्पाका आठ स्थानीय तहमध्ये शे–फोक्सुण्डो गाउँपालिका आर्थिक वर्ष २०८२/०८३ मा सबैभन्दा बढी खर्च प्रगति हासिल गर्ने स्थानीय तह बनेको छ।
गाउँपालिकाले सार्वजनिक गरेको खर्च विवरणअनुसार कुल ८१.५९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। चालुतर्फ ८७.०६ प्रतिशत र पुँजीगततर्फ ७५.७२ प्रतिशत खर्च भएको विवरण सार्वजनिक गरिएको हो।
आर्थिक वर्ष २०८२/०८३ मा रु. ३९ करोड ५१ लाख ३८ हजार विनियोजनमध्ये रु. ३२ करोड २४ लाख २३ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ।
चालुतर्फ रु. २० करोड ४७ लाख २० हजार मध्ये रु. १७ करोड ८२ लाख ३६ हजार र पुँजीगततर्फ रु. १९ करोड ४ लाख १८ हजार मध्ये रु. १४ करोड ४१ लाख ८६ हजार खर्च भएको छ।
गाउँपालिकाले समयमै कार्यसम्पन्न भई रीतपूर्वक पेश भएका सबै योजनाको भुक्तानी सम्पन्न भएको जनाएको छ।
साथै नीति, योजना तथा बजेट कार्यान्वयनमा सहयोग पुर्याउने जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी, विकास साझेदार, सञ्चारकर्मी तथा नागरिक समाजप्रति आभार व्यक्त गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ मा पनि यस्तै सहकार्यको अपेक्षा गरेको छ।
उक्त खर्च विवरण लेखापाल अमर बहादुर गिरी, वरिष्ठ लेखा अधिकृत दुर्गा बहादुर राना तथा प्रमुख प्रशासकीय अधिकृत सुमन ढकाल को हस्ताक्षरसहित सार्वजनिक गरिएको हो।

डोल्पा न्यूज । २७ असार २०८३, शनिबार २०:१४