विष्णुप्रसाद देवकोटा
डोल्पा ।प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उपल्लो डोल्पामा निर्वाचन तयारी तीव्र पारिएको छ। शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिका अन्तर्गत रहेका २३ मतदान केन्द्रमा खटिने मतदान अधिकृत सहायक मतदान अधिकृत सहितका १ सय १८ जना कर्मचारीले नियुक्ति बुझेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विदुरप्रसाद कोइरालाका अनुसार सदरमुकामबाट अत्यन्त टाढा र दुर्गम भूगोलमा पर्ने उपल्लो डोल्पाका मतदान केन्द्रका कर्मचारीलाई पहिलो चरणमा फागुन १४ गते नै नियुक्ति तथा सेवासुविधा उपलब्ध गराइएको हो। डोल्पोबुद्धका ६, छार्काताङसोङका ६ र शे–फोक्सुण्डोका ११ मतदान केन्द्रमा खटिएका कर्मचारीलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको सहायक निर्वाचन अधिकृत काेइरालाले बताए।
दुर्गम भौगोलिक अवस्था र पैदल यात्रा असम्भव जस्तै हुने क्षेत्र भएकाले उपल्लो डोल्पाका मतदान केन्द्रमा खटिने कर्मचारी तथा निर्वाचन सामग्रीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइने तयारी गरिएको छ। शनिबारदेखि सम्बन्धित केन्द्रतर्फ कर्मचारी र सामग्री ढुवानी सुरु गरिने कार्यालयले जनाएको छ।
त्यसैगरी, फागुन १५ गते काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा खटिने कर्मचारीलाई तथा फागुन १६ गते त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिका अन्तर्गतका ४७ मतदान केन्द्रमा खटिने २ सय ६५ जना निर्वाचन कर्मचारीलाई नियुक्ति बुझाइने कार्यक्रम रहेको छ।
डोल्पामा ६८ स्थायी र २ अस्थायी गरी कुल ७० मतदान केन्द्र कायम गरिएको छ भने तीन सय ८३ जना कर्मचारी परिचालन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतदान प्रतिनिधिमा कडा प्रावधान
निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको मतदान निर्देशिका–२०८२ अनुसार कुनै पनि राजनीतिक दलले नियुक्त गर्ने मतदान प्रतिनिधि सम्बन्धित मतदान केन्द्र पर्ने वडाकै मतदाता हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
निर्देशिकाको दफा ३१ (क) बमोजिम मतदान प्रतिनिधि सम्बन्धित केन्द्रमा मतदान गर्न पाउने गरी अन्तिम मतदाता नामावलीमा सूचीकृत भएको व्यक्ति हुनुपर्छ। यसअघि जिल्ला भित्रकै अन्य मतदान केन्द्रमा प्रतिनिधि खटाउन पाइने व्यवस्था रहे पनि यसपटक बाह्य वडा वा अन्य स्थानबाट प्रतिनिधि पठाउन नपाइने स्पष्ट गरिएको छ।
२४ हजारभन्दा बढी मतदाता
प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार १ सय १५ मतदाता रहेका छन्। जसमा महिला १२ हजार १ सय ८७ र पुरुष ११ हजार ९ सय २८ रहेका छन्।
हिमाली भूगोल, कठोर मौसम र लामो दूरीबीच पनि शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित निर्वाचन सम्पन्न गर्न प्रशासनले सुरक्षा, ढुवानी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर तयारी अघि बढाएको जनाएको छ।

डोल्पा न्यूज । १४ फाल्गुन २०८२, बिहीबार १७:१७