ताजा समाचार

डाेल्पाका ७० वटै मतदान केन्द्रमा पुगे निर्वाचन सामाग्री सहित कर्मचारी 

विष्णुप्रसाद देवकोटा

डोल्पा । हिमाली विकटताबीच डोल्पामा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लाका ६८ स्थायी र २ अस्थायी गरी सबै ७० मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको डोल्पामा यसपटक पनि भूगोल नै सबैभन्दा ठूलो चुनौती बनेको छ। सडक सञ्जालको पहुँचबाहिर रहेका उत्तरी क्षेत्रका डोल्पो बुद्ध, छार्का ताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिका का २३ मतदान केन्द्रमा सामग्री पुर्‍याउन चार दिनसम्म दुई हेलिकप्टर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन्।

अन्य अधिकांश केन्द्रमा सोमबार दिउँसोसम्म सामग्री पुगे पनि शे–फोक्सुण्डोका साल्दाङ, कराङ र धुङ्दार मतदान केन्द्रमा मंगलबार बिहान मात्र मतपेटिका र आवश्यक सामग्री पुर्‍याइएको प्रशासनले जनाएको छ।

निर्वाचन शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई समेत कडा पारिएको छ। जिल्लाभर ३ सय ८३ जना कर्मचारी खटाइएको छ भने २४ हजार ११५ मतदाता आफ्नो मताधिकार प्रयोग गर्न तयारी अवस्थामा छन्।

राजनीतिक समीकरण पनि रोचक बनेको छ। चुनावी मैदानमा सुरुमा धेरै उम्मेदवार रहे पनि अन्तिम चरणमा छ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेपाली कम्युनिस्ट पार्टीबाट धनबहादुर बुढा, नेकपा एमालेबाट लंकबहादुर रोकाय, नेपाली कांग्रेसबाट कर्णबहादुर बुढा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवसिंह ऐडी र स्वतन्त्र उम्मेदवार ओमेन्द्रबहादुर केसी चुनावमा होमिएका छन्।

यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले एमाले पक्षमा समर्थन जनाइसकेका छन् भने उज्यालो नेपाल पार्टीका दिलबहादुर विष्ट र मितेरी नेपाल पार्टीकी जुनु भण्डारी कांग्रेसमा प्रवेश गरेका छन्।

तपाईको प्रतिक्रिया