ताजा समाचार

गहिरो प्रेम, बिछोडको पीडा र पछुतोको कथा बोकेको ‘पछुताउने भयौं’ सार्वजनिक

डोल्पाका युवा सर्जक हरीचन्द्र विष्ट ले आफ्नो पहिलो म्युजिक भिडियो ‘पछुताउने भयौं’ सार्वजनिक गरेका छन् । चर्चित लोकदोहोरी गायक भागीरथ चलाउने र गायिका सरिता सुनार को स्वरमा सजिएको उक्त गीत बिहीबार ‘भागीरथ चलाउने’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
डोल्पाको त्रिपुराकोट निवासी सर्जक विष्ट र मोडल सरिता केसी को मुख्य अभिनय रहेको भिडियोले प्रेम, विश्वास, बिछोड र पछुतोको मार्मिक कथा प्रस्तुत गरेको छ ।

गीतमा गहिरो प्रेममा बाँधिएका दुई मुटु परिस्थितिको कठोर मोडमा पुगेर छुट्टिन बाध्य हुँदा जन्मिने पीडा र भावनात्मक संघर्षलाई संवेदनशील ढंगले उतारिएको छ ।
गीतका शब्द स्वयं हरीचन्द्र विष्टले सिर्जना गरेका हुन् भने संगीतमा भागीरथ चलाउनेको साथ रहेको छ । भिडियोको निर्देशन विक्रम चौहान ले गरेका हुन् ।

प्रकाश खड्का र उनको टोलीको छायांकन रहेको भिडियो दृश्यात्मक रूपमा पनि आकर्षक बनेको छ ।
भिडियोमा प्रेम सम्बन्धमा रहेका दुई युवा–युवतीको असफल प्रेमकथालाई केन्द्रमा राखिएको छ ।

परिवारको दबाब र सामाजिक परिस्थितिका कारण आफूले मन पराएको व्यक्तिसँग जीवन बिताउन नपाउँदाको पीडा, त्यसपछि मनभित्र उठ्ने पछुतो र भावनात्मक विछोडलाई अभिनयमार्फत जीवन्त बनाइएको छ ।
सार्वजनिक हुनुअघि नै गीतका अंशहरू सामाजिक सञ्जाल टिकटकमा चर्चित बनेपछि भिडियोप्रति दर्शकको उत्साहसमेत बढेको देखिन्छ ।

नवउदयमान सर्जक हरीचन्द्र विष्टले गीत र भिडियोले दर्शकको मन छुने विश्वास व्यक्त गर्दै सबैलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया