विष्णुप्रसाद देवकोटा
डोल्पा।
डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएराति आएको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
लगातारको वर्षापछि धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढीले शुक्रबार बिहान करिब ३ बजे गाउँमा पस्दा स्थानीय आनन्दी विक (अन्दाजी ५६ वर्ष) को मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अनिलराज गिरीका अनुसार बाढीमा घाइते भएकी आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा मृत्यु भएको हो।
घाइते हुनेमा चाउरी विक (५०), रेउली विक (४४), विष्णु विक (४८), निरुता विक (१५), सीता विक (१३) र जस विक (६५) रहेका छन्। उनीहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रिफर गर्ने तयारी गरिएको छ।
घटनाका प्रत्यक्षदर्शीसमेत रहेका घाइते विष्णु विकका अनुसार बाढीले आफूहरूलाई करिब १५–१६ मिटरसम्म बगाएको थियो, जसका कारण ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।
प्रारम्भिक विवरणअनुसार बाढीले सहकारी भवन, खाद्य गोदामसहित करिब ७–८ घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार केही अन्य घरमा पनि क्षति पुगेको हुन सक्ने भएकाले विस्तृत विवरण संकलन भइरहेको छ। एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ। 
प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमान्डमा थप पाँच जनाको टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा थप उद्धार र राहतको कार्य जारी रहेको प्रहरीले जनाएको छ।
मध्यराति आएको बाढीमा परी डोल्पामा एक महिलाको मृत्यु, ६ जना घाइते
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २१ असार २०८३, आईतवार ०६:०९