विष्णुप्रसाद देवकोटा
डोल्पा । नेपाली कम्युनिष्ट पार्टी, डोल्पाले जिल्लामा पार्टी एकता, संगठन विस्तार, सदस्यता नवीकरण तथा स्थानीय तहमा पार्टी समायोजनको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ ।
पार्टी कार्यालय दुनैमा साउन २८ गते जिल्ला कार्य संयोजन समितिको बैठकले संगठनात्मक कामसँगै जिल्लाका समसामयिक जनसरोकारका विषयमा समेत विभिन्न निर्णय गरेको हो । जिल्ला संयोजक धर्मजीत बोहराको अध्यक्षतामा बसेको बैठकमा जिल्ला इन्चार्ज हंसबहादुर शाही, सहइन्चार्ज छक्कबहादुर धराला तथा केन्द्रीय सदस्य हरिप्रसाद डाँगीको विशेष उपस्थिति थियो ।
बैठकले डोल्पाबाट प्रतिनिधित्व गर्ने १३ केन्द्रीय सदस्य, ५२ प्रदेश सदस्य, ६२ जिल्ला सदस्य, ३४ पालिका सदस्य र १०१ वडा समिति सदस्यको सदस्यता नवीकरण भएको जनाएको छ । भौगोलिक विकटता तथा प्राविधिक सीमितताका बीच ठूलीभेरी नगरपालिका, काइके गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिकामा सदस्यता नवीकरण तथा वितरणको काम भइरहेको पार्टीले जनाएको छ ।
पालिकास्तरमा पार्टी एकता प्रक्रियासमेत अघि बढेको बैठकले जनाएको छ । मुड्केचुला गाउँपालिकामा प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै एकता सभा सम्पन्न भइसकेको छ भने काइके गाउँपालिकामा गाउँ समिति एकतासँगै सातवटै वडामा एकता बैठक सम्पन्न भएका छन् । ठूलीभेरी नगरपालिकाका ११ वटै वडामा एकता बैठक सम्पन्न भए पनि नगर समितिको एकता भने बाँकी रहेको छ । त्रिपुरासुन्दरी नगरपालिकामा पालिकास्तरीय परामर्श बैठक सम्पन्न भएको र अन्य पालिकामा प्रारम्भिक छलफल, सम्पर्क तथा समन्वय भइरहेको पार्टीले जनाएको छ ।
सांगठनिक कामलाई प्रभावकारी बनाउन यसअघि गठन गरिएको २८ सदस्यीय जिल्ला कार्य संयोजन समितिमा थप १२ सदस्य मनोनयन गरिएको छ । त्यस्तै, जिल्ला सहसंयोजक तथा संगठन विभाग प्रमुख बबि किशोर गुरुङको नेतृत्वमा ११ सदस्यीय संगठन विभाग गठन गरिएको छ ।
पार्टी एकता प्रक्रियामा सहभागी स्थानीय तहका जनप्रतिनिधिलाई समेत स्थानीय तहमा दल समायोजन तथा एकता प्रक्रियामा समेट्ने निर्णय गरिएको छ । त्यसका लागि सम्बन्धित पालिका इन्चार्ज, संयोजक तथा जिल्ला पदाधिकारीले स्थानीय नेतृत्वसँग समन्वय गरी एक महिनाभित्र संयुक्त बैठक आयोजना गर्ने निर्णय भएको छ ।
भेरी करिडोर तत्काल सञ्चालन गर्न माग
नेपाली कम्युनिष्ट पार्टी, डोल्पाले वर्षाका कारण अवरुद्ध भेरी करिडोर तथा मध्यपहाडी लोकमार्ग तत्काल सञ्चालनमा ल्याउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
पार्टीको जिल्ला कार्य संयोजन समितिको बैठकले बाढी तथा पहिरोबाट क्षति पुगेका निजी घर तथा सार्वजनिक संरचनाको पुनर्निर्माणसँगै प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको हो ।
मुड्केचुला गाउँपालिका–१, २ र ३ मा कालीस खोला बाढीका कारण अवरुद्ध सडक तत्काल सञ्चालन गर्न तथा वडा नं. ७ सर्मी गाउँमा पहिरोबाट क्षति पुगेका घरपरिवारलाई राहत र पुनर्निर्माणको व्यवस्था गर्न पार्टीले सम्बन्धित निकायसँग माग गरेको छ ।
बैठकले वर्षाका कारण बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
यसैगरी, डोल्पामा दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको भन्दै नागरिकलाई सहज र नियमित आपूर्ति सुनिश्चित गर्न पार्टीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
बैठकले जिल्ला सहइन्चार्ज काली चलाउने तथा मुड्केचुला–८ निवासी पार्टी सदस्य भूमलाल बोहराको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
साउन २७ गते ठूलीभेरी नगरपालिका–२, लोचामा सडक खन्ने क्रममा भएको डोजर दुर्घटनामा परी मृत्यु भएका ठूलीभेरी नगरपालिका–६ निवासी मन्दिर रोकायाप्रति पनि बैठकले श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको जिल्ला प्रचार विभाग प्रमुख प्रेमबहादुर बोहराले प्रेस नोटमार्फत सार्वजनिक गरेका छन ।
पार्टी एकता र संगठन विस्तारलाई तीव्रता दिदै नेपाली कम्युनिष्ट पाटी डाेल्पा
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ३१ श्रावण २०८३, आईतवार १३:०१