विष्णुप्रसाद देवकोटा
डोल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाले नगरक्षेत्रमा उत्पादित स्याउ गुणस्तरीय नपुग्दै नटिप्न र भदौ १० गते पछि मात्र बिक्री–वितरण गर्न निर्देशन दिएकाे छ ।स्याउ कृषकहरूले भने सामाजिक सञ्जाल मार्फत भने असन्तुष्टि जनाएका छन्।नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थानेश्वर पनेरुद्वारा हस्ताक्षरित जारी सुचनामा स्याउको स्वाद, गुणस्तर र बजार मूल्य कायम राख्न समयअगावै स्याउ टिपेर बिक्री–वितरण नगर्न उल्लेख छ । तर, कृषकहरूले भने नगरपालिकाको सूचना व्यवहारिकताभन्दा आदेशमुखी मात्रै भएको टिप्पणी गरेका छन्।
यस वर्षको असिना–पानी लगायतका दैवीप्रकोपबाट स्याउ उत्पादनमा ठूलो क्षति पुगेको र कतिपय कृषकको उत्पादन लगभग शून्यमा झरेको अवस्थामा नगरपालिकाले कृषकको पीडा सम्बोधन गर्न राहत तथा क्षतिपूर्तिका लागि पहल नगरेको उनीहरूको गुनासो छ।
‘उत्पादन नष्ट हुँदा किसानको हात समाउने होइन, कर असुली र बिक्री–वितरणमा मात्र नगरको चासो देखिन्छ,’ सामाजिक सञ्जालमा कृषकहरूले प्रश्न उठाएका छन्। उनीहरूले प्राकृतिक विपत्तिले वर्षभरिको आम्दानीको आधार गुमाइ दिएका किसानलाई राहत, क्षतिको मूल्यांकन र पुनःस्थापनाका कार्यक्रम ल्याउनु पर्ने माग गरेका छन्।
कृषकहरूका अनुसार स्याउ खेती डोल्पाका ग्रामीण किसानको वार्षिक आम्दानीको महत्वपूर्ण आधार हो। तर असिना–पानीले उत्पादनमै धक्का पुर्याएपछि धेरै कृषकको आम्दानीमा प्रत्यक्ष गिरावट आएको छ। यस्तो अवस्थामा उत्पादन कहिले बजारमा लैजाने भन्ने निर्देशनसँगै क्षति व्यहोरेका किसानलाई नगरपालिकाले के सहयोग गर्छ? भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण रहेको उनीहरूको भनाइ छ।
स्याउको गुणस्तर कायम राख्न, अपरिपक्व स्याउ बजारमा जान नदिन र स्थानीय उत्पादनको बजार मूल्य जोगाउन भदौ १० गतेपछि मात्र बिक्री–वितरण गर्न नगरपालिकाले
आग्रह गरेको छ।
कृषकहरूले गुणस्तरीय स्याउ उत्पादन र बजार व्यवस्थापनको पक्षमा आफूहरू पनि रहेको बताएका छन्। तर, किसानको उत्पादन हुँदा बजारको नियम र कर सम्झने, उत्पादन नै नहुँदा वा प्राकृतिक विपत्तिले बाली सखाप पार्दा राहतको पहल सम्म नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनीहरूले बताएका छन ।
कांचाे स्याउ नटिप्न नगरको उर्दी, किसानको प्रश्न–‘क्षति हुँदा राहत खोइ?’
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ३१ श्रावण २०८३, आईतवार ०६:५०