विष्णुप्रसाद देवकोटा
भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा बाढीले झोलुङ्गे पुलसहित चार घर बगाएपछि सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
नलगाड नगरपालिका–११ रोलीस्थित तासुघाट खोलामा पानीको बहाव बढेपछि आएको बाढीले झोलुङ्गे पुलको पश्चिमतर्फको भाग बगाएको हो। बाढीले स्थानीयका ढुंगा–माटोले बनेका चारवटा घरसमेत बगाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए।
बाढीबाट पृर्थिबहादुर विकको दुईतले ढुंगा–माटोले बनेको ढुंगाले छाएको घर, खैते विकको दुईतले घर, नरबहादुर विकको तीनतले घर तथा हस्त विकको दुईतले टिनले छाएको घर बगेका छन्। घर बगाएपछि चारवटै परिवारका क्रमशः ९, १०, १० र ८ जना सदस्य सुरक्षित स्थानमा सरेका छन्।
प्रहरीका अनुसार घटनामा मानवीय क्षति भने भएको छैन। तर झोलुङ्गे पुलको एक भागसमेत बगेपछि तत्काल वैकल्पिक बाटो नहुँदा जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा ठप्प भएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा चार सदस्यीय प्रहरी टोली शुक्रबार बिहान साढे ६ बजे घटनास्थलतर्फ परिचालन गरिएको छ।
लगातार वर्षा भइरहेकाले तासुघाट आसपास थप क्षतिको जोखिम बढेको प्रहरीले जनाएको छ। प्रहरीले नदी तथा खोलानालाको आसपासमा नजान र सुरक्षित स्थानमा बस्न स्थानीयवासीलाई आग्रह गरेको छ।
भेरी करिडोरको महत्वपूर्ण सडकखण्डमै बाढीले पुल र घर बगाएपछि डोल्पा–जाजरकोट आवागमनमा भने गम्भीर असर परेको छ।
बाढीले झोलुङ्गे पुलसहित चार घर बगायो,जाजरकोट–डोल्पा सडक अवरुद्ध
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २९ श्रावण २०८३, शुक्रबार ०८:१८