ताजा समाचार

डाेल्पामा आज यता, भोलि उताकाे’ राजनीति: फर्किए भनेकी  नेतृले फेरि मोर्चा बदलिन्

डोल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोल्पाकी जिल्ला उपसचिव जुनि बुढाले पार्टीसँगको सम्बन्ध पूर्ण रूपमा विच्छेद गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध भएको अन्तिम निर्णय सार्वजनिक गरेकी छन्।

जगदुल्ला गाउँपालिका–६ निवासी बुढाले शुक्रबार विज्ञप्ति जारी गर्दै एमालेको जिल्ला कमिटी उपसचिव पदसहित सबै जिम्मेवारी त्यागेको घोषणा गरिन्। उनले केही दिनअघि नेकपाको पालिका स्तरीय चुनावी कार्यक्रममा श्रीमान् र परिवारका सदस्यसहित औपचारिक रूपमा पार्टी प्रवेश गरेको पुष्टि गरिन्।

बुढाका अनुसार नेकपा प्रवेश गरेपछि एमालेका केही नेता–कार्यकर्ताबाट विभिन्न तहमा दबाब सिर्जना भएको थियो। सोही दबाबका कारण पर्याप्त पारिवारिक छलफल नगरी आफू पुनः एमालेमै फर्किएको भन्ने विज्ञप्ति निकाल्न बाध्य हुनुपरेको उनले स्पष्ट पारेकी छन्।

तर, पछिल्लो गहन पारिवारिक परामर्शपछि आफू नेपाली कम्युनिष्ट पार्टीमै रहने निष्कर्षमा पुगेको उनले उल्लेख गरेकी छन्। “अब एक मन, एक चित्त र एक ढिक्का भएर पार्टीको नीति, विचार र कार्यक्रमअनुसार अघि बढ्नेछु,” विज्ञप्तिमा भनिएको छ। साथै उनले एमालेसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी परित्याग गरिसकेको र यसबारे कुनै भ्रममा नपर्न आग्रह गरेकी छन्।

डोल्पामा एमालेबाट नेकपातर्फ जाने क्रम यतिमै सीमित छैन। यसअघि एमाले डोल्पाका उपाध्यक्ष लंक बहादुर शाही र उपसचिव लोकेन्द्र रानाले पनि पार्टी परित्याग गरिसकेका छन्। उता एमाले डोल्पाले भने उनीहरूलाई साधारण सदस्यता समेत नरहने गरी कारबाही गरेको जनाएको छ।

निर्वाचनको संघारमा देखिएको यो ‘पार्टी अदल बदली’ले डोल्पाको कम्युनिष्ट राजनीति भित्रको असन्तुष्टि, अन्तरद्वन्द्व र दबाब राजनीतिलाई सतहमा ल्याएको विश्लेषण हुन थालेको छ। अबको चुनावी समीकरणमा यसको कस्तो प्रभाव पर्ला भन्ने चासो थपिएको छ।

तपाईको प्रतिक्रिया