ताजा समाचार

उत्कृष्ट कर्मचारी र विद्यालय सम्मानसँगै काईकेको ३३ करोड बजेट  पारित

डोल्पा, असार १० – डोल्पाको काईके गाउँपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३३ करोड ३७ लाख ४९ हजार १ सय ८३ रुपैयाँ ८० पैसाको बजेट पारित गरेको छ। गाउँपालिकाको केन्द्र शहरतारा बगरमा सम्पन्न १७औँ गाउँसभाले उपाध्यक्ष निमा बुढाद्वारा प्रस्तुत बजेट सर्वसम्मत रूपमा पारित गरेको हो।
पारित बजेटमध्ये चालु खर्चतर्फ १८ करोड ६३ लाख ८२ हजार १ सय ८३ रुपैयाँ ८० पैसा तथा पूँजीगततर्फ १४ करोड ७३ लाख ६७ हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँसभामा अध्यक्षता गर्दै गाउँपालिका अध्यक्ष अंगदकुमार रानाले बजेटले समग्र विकास, प्रभावकारी सेवा प्रवाह, पारदर्शिता, जवाफदेहिता तथा नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेको बताए। उनका अनुसार जलवायु परिवर्तनका असर न्यूनीकरण, स्थानीय रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन, कृषि–पशुपालन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
यसैबीच गाउँसभाको अवसरमा गाउँपालिकाले उत्कृष्ट कर्मचारी, प्राविधिक, विद्यालय तथा विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ। उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पशु शाखाका प्राविधिक पाँचौँ टेकेन्द्रकुमार क्षेत्री र सहायक चौथो बसन्त केसीलाई जनही ५० हजार रुपैयाँ, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर नेपालीले जानकारी दिए।
त्यसैगरी उत्कृष्ट शैक्षिक सेवा प्रदान गरेको भन्दै काईके–५ स्थित भेरी आधारभूत विद्यालयलाई एक लाख रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मान गरिएको छ। प्रथम गाउँपालिका स्तरीय परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका अरनिको माध्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थी सुजन बुढा र कक्षा ५ की छात्रा अविक्षा झाँक्रीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
काईके गाउँपालिकाले विगत केही वर्षदेखि उत्कृष्ट कर्मचारी तथा विद्यालयलाई प्रोत्साहनस्वरूप सम्मान गर्दै आएको छ। अध्यक्ष रानाले यस्ता कार्यक्रमले कर्मचारीको मनोबल वृद्धि हुने, सेवा प्रवाहमा सुधार आउने तथा शिक्षा क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे।
उनले जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको सहकार्यबाट बजेटका लक्ष्य सफलतापूर्वक कार्यान्वयन हुने अपेक्षा समेत व्यक्त गरे।

तपाईको प्रतिक्रिया