ताजा समाचार

डोल्पा अस्पताललाई रास्वपा–जेन्जीकाे २५ प्रकारका स्वास्थ्य सामग्री सहयाेग

विष्णुप्रसाद देवकोटा
डोल्पा । जेन्जी समूह कर्णाली प्रदेश संयोजक प्रकाश खड्काको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोल्पाको पहलमा जिल्ला अस्पताल दुनैलाई विभिन्न अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
रास्वपा डोल्पाका पदाधिकारीहरूको सक्रियतामा जेन्जी समूहको समन्वयमा संकलित २५ प्रकारका सामग्री आइतबार अस्पताललाई हस्तान्तरण गरिएको हो।
हस्तान्तरण गरिएका सामग्रीहरूमा पोस्टमार्टम सेट, माइक्रोपिपेट सेट, बाइप्याप मेसिन, पल्स अक्सिमिटर (स्पट चेक), पाइपेट स्ट्यान्ड, हेमाटोलोजी एनालाइजरका पार्टहरू, डेन्टल उपकरण सेट, ढक्कनसहितको फिडिङ कप, एआरआई साउन्ड टाइमर, लाइट परीक्षण मोबाइल, नवजात शिशु अभ्यास पुतली (नियोनेटल मानेक्विन), एम्बु ब्याग (मास्कसहित), अक्सिजन कन्सन्ट्रेटर (८ लिटर), तौल मापन मेसिन, अक्सिजन सिलिन्डर कुञ्जी, सिम्स क्युरेट (#९ र #३), अक्सिजन हुड बक्स, धारिला फोहर राख्ने बिन (०.८ लिटर), हावायुक्त गद्दा (पम्पसहित), सिम्स स्पेकुलम लगायतका उपकरणहरू रहेका छन्।
यसैगरी अस्पतालका लागि आवश्यक आधारभूत सामग्री अन्तर्गत बेड साइड लकर, केएमसी कुर्सी (आमा–शिशु कङ्गारु केयर कुर्सी) र फोहर फाल्ने डस्टबिन समेत हस्तान्तरण गरिएको छ।
स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. सिजन रावलले आवश्यक सामग्री उपलब्ध गराउने तथा संकलनदेखि अस्पतालसम्म पुर्‍याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
हस्तान्तरण कार्यक्रममा जेन्जी समूहका संयोजक खड्का तथा रास्वपा डोल्पाका प्रतिनिधिहरूले जिल्ला अस्पतालको अवस्था र समग्र स्वास्थ्य क्षेत्रका समस्याबारे छलफल गर्दै सुझाव संकलन गरेका थिए।
रास्वपाका प्रतिनिधिहरूले जिल्लाको स्वास्थ्य क्षेत्रमा देखिएका तत्कालीन समस्याहरू पहिचान गरी समाधानका लागि केन्द्र सरकार तथा सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया