ताजा समाचार

आम्दानीले खर्च धान्न नसकेपछि छलगाड लघुजलविद्युत् वडाले सम्हाल्ने

विष्णुप्रसाद देवकोटा
डोल्पा ।त्रिपुरासुन्दरी नगरपालिका–१ लोका क्षेत्रमा १८ वर्षदेखि विद्युत् आपूर्ति गर्दै आएको छलगाड लघुजलविद्युत् आयोजनाको व्यवस्थापन अब वडा कार्यालयले सम्हाल्ने भएको छ।
आम्दानीको तुलनामा सञ्चालन खर्च बढ्दै गएपछि उपभोक्ता समितिले विद्युत् व्यवस्थापन र सञ्चालनको आर्थिक भार थेग्न नसक्ने अवस्था आएपछि वडा कार्यालयले आयोजनाको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिने निर्णय गरेको हो।
२०६५/०६६ मा स्थापना भई विद्युत् उत्पादन सुरु गरेको छलगाड लघुजलविद्युत् केन्द्रले विभिन्न आरोह–अवरोह पार गर्दै १८ वर्षसम्म निरन्तर रूपमा स्थानीय बासिन्दालाई विद्युत् सेवा दिँदै आएको थियो।
तर पछिल्लो समय आम्दानी घट्दै जाँदा कर्मचारीको तलबभत्ता, उपकरण खरिद तथा मर्मतसम्भारलगायतका खर्च धान्न कठिन भएपछि उपभोक्ता समितिले आयोजनाको व्यवस्थापन वडा कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो।
१२ साउन २०८३ मा छलगाड लघुजलविद्युत् व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर विष्टको अध्यक्षतामा बसेको सर्वपक्षीय सरोकारवाला तथा उपभोक्ताको बैठकले आयोजनाको व्यवस्थापन वडा कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो।
बैठकमा त्रिपुरासुन्दरी नगरपालिका–१ का वडाध्यक्ष रामचन्द्र कुलालसहित स्थानीय सरोकारवाला तथा उपभोक्ताको सहभागिता थियो।
बैठकले उपभोक्ता समितिबाट प्रभावकारी रूपमा विद्युत् व्यवस्थापन, सञ्चालन तथा कर्मचारी परिचालन गर्न कठिन देखिएको भन्दै आवश्यक कागजात र सम्पूर्ण विवरणसहित आयोजनाको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी वडा कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो।
वडाध्यक्ष रामचन्द्र कुलालले वडा सरकार वडावासीको साझा संस्था भएकाले सामूहिक निर्णयलाई स्वीकार गर्दै आयोजनाको जिम्मेवारी लिन तयार रहेको बताए।
“उपभोक्ता समितिले आवश्यक कागजात र विवरणसहित वडा कार्यालयमा हस्तान्तरण गरेपछि जनताको हितलाई केन्द्रमा राखेर व्यवस्थित रूपमा विद्युत् सञ्चालन गर्छौं,” उनले भने, “वडावासीलाई निरन्तर र सहज रूपमा उज्यालो उपलब्ध गराउनु हाम्रो जिम्मेवारी हो।”
नेपालका धेरै क्षेत्रमा पछिल्लो समय लघुजलविद्युत् आयोजना सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएका बेला छलगाडको जिम्मेवारी वडा कार्यालयले लिनु स्थानीय उपभोक्ताका लागि राहतको विषय भएको व्यवस्थापन उपभोक्ता समितिका सदस्य चन्द्रमान सार्कीले बताए।

विद्युत् अपरेटर कमल हमालले गाउँलेको स्वामित्वमा रहेको आयोजना अहिलेसम्म विभिन्न कठिनाइका बीच जेनतेन सञ्चालन गर्दै आएको बताए।
“आयोजना गाउँलेहरूकै स्वामित्वमा छ। अहिलेसम्म जेनतेन चलाउँदै आएका थियौँ। तर प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्न कठिन देखिएपछि सबै गाउँलेको सहमतिमा वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय भएको हो,” उनले भने।
बैठकमा सचिव खड्कसिंह कठायतले पछिल्ला चार आर्थिक वर्षको आय–व्यय विवरणसमेत सार्वजनिक गरेका थिए। प्रस्तुत विवरणअनुसार कर्मचारीको तलबभत्ता, उपकरण खरिद तथा मर्मतसम्भारका लागि विभिन्न समयमा निजी व्यक्तिबाट लिइएको सापटसमेत गरी करिब ३ लाख रुपैयाँ अपुग रहेको जानकारी गराइएको थियो।
वडा कार्यालयले आयोजनाको व्यवस्थापन जिम्मेवारी लिएसँगै विद्युत् सेवा थप व्यवस्थित, नियमित र प्रभावकारी हुने अपेक्षा स्थानीय उपभोक्ताले गरेका छन्।

तपाईको प्रतिक्रिया