ताजा समाचार

प्रशासनिक_यथार्थ : ९–५ को घडी, कार्यक्षेत्रको बाध्यता र पत्रकारिताको मर्यादा

विक्रम कठायतकाे  फेसबुकवालबाट
उनी लेख्छन

प्रेम बडुवाल सर–असार लागेसँगै निजामती कर्मचारी, विशेषगरी स्थानीय तह तथा विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूका लागि यो समय अत्यन्त व्यस्त र चुनौतीपूर्ण हुन्छ। तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्नुपर्ने दबाब एकातिर हुन्छ भने अर्कोतिर कानुन र प्रक्रियाअनुसार काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
यस्तो अवस्थामा कार्यालय प्रमुख, प्राविधिक कर्मचारी (इन्जिनियर/सब-इन्जिनियर) तथा लेखा शाखाका कर्मचारीहरू सधैं कार्यकक्षभित्र मात्र सीमित रहन सक्दैनन्। योजनाको वास्तविक अवस्था बुझ्न, इस्टिमेटअनुसार काम भए/नभएको जाँच गर्न, अनुगमन गर्न तथा भुक्तानीअघि आवश्यक प्राविधिक प्रतिवेदन तयार गर्न उनीहरू फिल्डमा पुग्नैपर्ने हुन्छ। विकास निर्माणका काम केवल कार्यालयको टेबलबाट होइन, कार्यस्थलमै पुगेर प्रभावकारी रूपमा सम्पन्न हुन्छन्।
तर कतिपय अवस्थामा फिल्ड अनुगमन वा सरकारी कामकै सिलसिलामा बाहिर रहेका कर्मचारीलाई “कार्यालय समयमा कार्यकक्षमा किन भेटिएनन्?” भन्ने आधारमा मात्र मूल्याङ्कन गर्ने प्रवृत्ति देखिन्छ। कार्यसम्पादनको वास्तविकता नबुझी केवल उपस्थितिको आधारमा निष्कर्ष निकाल्नु न्यायोचित मान्न सकिँदैन।
असारको हिलो, धूलो र निर्माणस्थलको व्यस्तताबीच राष्ट्रसेवकले औपचारिक पोसाकमै मात्र उपस्थित हुनुपर्छ भन्ने सोचभन्दा पनि समयमै गुणस्तरीय र नियमसम्मत काम सम्पन्न हुनु बढी महत्वपूर्ण विषय हो।
यसैबीच, केही व्यक्तिहरूले पत्रकारिताको नाममा कर्मचारीमाथि अनावश्यक दबाब सिर्जना गर्ने, कार्यकक्षमा नभेटिँदा वास्तविकता नबुझी आरोप लगाउने वा सामाजिक सञ्जालमार्फत सस्तो लोकप्रियता खोज्ने प्रवृत्ति पनि देखिएको छ। प्रश्न सोध्ने, सूचना माग्ने र सार्वजनिक निकायको निगरानी गर्ने अधिकार पत्रकारलाई अवश्य छ। तर सरकारी कामकै सिलसिलामा खटिएका कर्मचारीलाई आतङ्कित पार्ने, मानमर्दन गर्ने वा पूर्वाग्रही ढंगले प्रस्तुत हुने कार्य पत्रकारिताको मूल मर्मसँग मेल खाँदैन।
पत्रकारिता उत्तरदायी र तथ्यमा आधारित हुनुपर्छ। प्रक्रियागत कमजोरी वा अनियमितता भए त्यसलाई उजागर गर्नु पत्रकारको दायित्व हो। तर तथ्य नबुझी व्यक्तिको चरित्रमाथि प्रहार गर्ने, विकास निर्माणका काममा अनावश्यक अवरोध सिर्जना गर्ने वा बार्गेनिङको माध्यम बनाउने प्रवृत्तिले न पत्रकारिताको प्रतिष्ठा बढाउँछ, न सुशासनलाई नै बल पुर्‍याउँछ।
राष्ट्रसेवकको मूल्याङ्कन केवल ९–५ को उपस्थितिले होइन, उसले निर्वाह गरेको जिम्मेवारी, कार्यसम्पादन र नतिजाले हुनुपर्छ। सच्चा पत्रकारिताप्रति सम्मान र पीत पत्रकारिताप्रति कानुनी जवाफदेहिता आजको आवश्यकता हो।
राष्ट्रसेवकको धर्म कार्यसम्पादन हो, केवल उपस्थितिको औपचारिकता होइन।

तपाईको प्रतिक्रिया