ताजा समाचार

ठुलीभेरीमा अवैध ढुंगा उत्खनन गरेर ढुवानी गरिरहेकाे ट्याक्टर प्रहरीकाे कब्जामा

विष्णुप्रसाद देवकोटा /डाेल्पा
सदरमुकाम दुनैस्थित ठुलीभेरी नदीबाट अवैध रूपमा ढुंगा संकलन गरी ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले एक ट्याक्टर नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार ठुलीभेरी नदी क्षेत्रबाट ढुंगा ल्याइरहेको भे २-०३०० त ५५५४ नम्बरको ट्याक्टर र चालक बाँकेको डडुवा गाउँपालिका–५ निवासी ३१ वर्षीय सन्तोष बिकलाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार नियन्त्रणमा लिइएको ट्याक्टर र चालकलाई आवश्यक कारबाहीका लागि ठुलीभेरी नगरपालिकामा बुझाइएको थियो। नगरपालिकाले २ हजार ४ सय रुपैयाँ जरिवाना गरेपछि ट्याक्टर सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको जनाएको छ।
यता ठुलीभेरी नदी किनार क्षेत्रमा पछिल्लो समय गिट्टी, बालुवा तथा ढुंगाको अवैध उत्खनन र ओसारपसार बढ्दै गएको भन्दै स्थानीयस्तरमा चिन्ता व्यक्त हुँदै आएको छ। नदीजन्य पदार्थको अनियन्त्रित दोहन रोक्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन र कारबाहीलाई थप कडाइ गर्नुपर्ने माग समेत उठ्न थालेको छ।

तपाईको प्रतिक्रिया