
दैलेख — धार्मिक आस्था बोकेर पञ्चकोशी दर्शनका लागि घरबाट निस्किएका डोल्पाका एक तीर्थयात्रीको यात्रा बीचमै दुःखद रूपमा टुंगिएको छ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ भोरगाउँका ५० वर्षीय लालबहादुर केसीको दैलेखको दुल्लु नगरपालिका–११ स्थित कोटिला धार्मिक क्षेत्रको छामघाट खोलामा नुहाउने क्रममा बुधबार दिउँसो डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार केसी गाउँका छिमेकीहरूसँगै पञ्चकोशी दर्शनका लागि दैलेख पुगेका थिए। धार्मिक स्थलमै नुहाउने क्रममा उनी अचानक खोलामा डुबेका थिए।
घटनापछि स्थानीय र सुरक्षाकर्मीको सहयोगमा शव निकालिएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि आफन्तसँगै डोल्पा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

डोल्पा न्यूज । १० बैशाख २०८३, बिहीबार २०:५२