विष्णुप्रसाद देवकोटा
वर्षौँदेखि स्रोत अभाव झेलिरहेको डोल्पो क्याम्पस अब नयाँ भवनसँगै गुणस्तरीय शिक्षातर्फ अघि बढ्ने तयारीमा छ।
विश्वविद्यालय अनुदान आयोगको ९० लाख रुपैयाँ सहयोग र क्याम्पसको आन्तरिक कोषबाट २९ लाख रुपैयाँ म्याचिङ फण्ड जुटाएर कुल १ करोड १९ लाख ४३ हजार लागतमा निर्माण भइरहेको ८ काेठे शैक्षिक तथा प्रशासनिक भवन अन्तिम चरणमा पुगेको छ।
सुनिल निर्माण सेवाले भ्याटसहित ८१ लाख ८७ हजार रुपैयाँमा ठेक्का लिई निर्माण कार्य अघि बढाइरहेको छ। निर्माण सेवाका आधिकारिक प्रतिनिधि विशाल रोकायाले विभिन्न अवरोधका बाबजुद पनि निर्माणकाे काम सन्तोषजनक रूपमा गरिरहेका हाल रंगरोगन र फिनिसिङका काम मात्र बाँकी रहेकाे क्याम्पस प्रशासनले जनाएकाे छ।
क्याम्पस प्रमुख विष्णुलाल बुढाका अनुसार २०८२ असोजमा सम्झौता गरिएको योजना २०८२ चैत १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
जाडोयाम, निर्माण सामग्री ढुवानीका क्रममा भएको ट्याक्टर दुर्घटना र चालकको मृत्युजस्ता भैपरी आएका घटनाका बाबजुद कामले तीव्रता पाउँदै अन्तिम चरणमा पुगेको उनले बताए। उनका अनुसार निर्माणमा प्रयोग भएका सामग्री गुणस्तरीय र मापदण्डअनुसारका छन्।
अब वैशाख अन्तिमदेखि जेठ दोस्रो सातासम्म फिनिसिङ कार्य सम्पन्न गरी जेठ महिनाको अन्तिम सातादेखि नयाँ भवनबाटै कक्षा तथा प्रशासनिक सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।
२०६० सालमा स्थापना भई २०६१ देखि सम्बन्धन प्राप्त गरेको क्याम्पस हालसम्म आंगिक बन्न नसक्दा सरकारी अनुदान र दरबन्दीको अभाव झेल्दै आएको छ।
विद्यार्थी भर्ना शुल्ककै भरमा पार्टटाइम प्राध्यापकमार्फत अध्यापन गरिँदा शिक्षाको लागत महँगो हुनुका साथै गुणस्तरमा चुनौती देखिएको छ। हाल क्याम्पस प्रमुखसहित १३ जना (१२ जना पार्टटाइम) प्राध्यापकबाट अध्यापन भइरहेको छ।
जस्तापाताले छाएको पुरानो भवनमा वर्षातको कटकटाहटबीच पढ्न बाध्य विद्यार्थी अब सुविधा सम्पन्न पक्की भवनमा अध्ययन गर्न पाउने भएका छन्। सडक पहुँच विस्तारसँगै डोल्पो क्याम्पस आधुनिक संरचनातर्फ अघि बढ्दै नयाँ रूप लिँदैछ।
क्याम्पसलाई आंगिक बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान जान सके डोल्पामा उच्च शिक्षाको विकासले थप गति लिने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । ९ बैशाख २०८३, बुधबार २०:००