विष्णुप्रसाद देवकोटा
डोल्पाको ठूलीभेरी नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण प्राप्त गर्ने पालिकाका रूपमा घोषणा गरिएको छ।
“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित विशेष कार्यक्रममा नगरपालिकालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण पालिका घोषणा गरिएको हो।
ठूलीभेरी नगरपालिका स्थानीय तह पूर्णखोप समन्वय समितिका कार्यवाहक अध्यक्ष तथा वडा नम्बर ७ का अध्यक्ष धुर्वविक्रम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकाया प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै ठूलीभेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख खड्कबहादुर शाहीले पूर्णखोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पुर्याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा सरोकारवाला सबैप्रति आभार व्यक्त गरे।उनले बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न खोप कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए।
जुफाल स्वास्थ्य चौकीका प्रमुख तथा जनस्वास्थ्य अधिकृत राजनकुमार डाँगीका अनुसार ठूलीभेरी नगरपालिकाभित्र कुनै पनि बालबालिका पूर्णखोप सेवाबाट वञ्चित छैनन्।
बैशाख महिनाभित्र नगरपालिकाका ११ वटै वडामा १६ देखि २३ महिनासम्मका बालबालिकाको विस्तृत सर्वेक्षण गरिएको थियो। सर्वेक्षणका क्रममा ८८ जना बालबालिका पहिचान गरिएकामा तीन जना बालबालिका आवश्यक खोप लिनबाट छुटेको भेटिएको थियो।
पछि ती सबै बालबालिकालाई समेत आवश्यक खोप प्रदान गरिएपछि पालिकाले पूर्णखोप सुनिश्चितताको मापदण्ड पूरा गरेको डाँगीले जानकारी दिए।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै उनले अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले ठूलीभेरी नगरपालिकालाई बधाई दिँदै उपलब्धिलाई निरन्तरता दिन आग्रह गरे।
उनले पूर्णखोप सुनिश्चितता घोषणा मात्र नभई आगामी दिनमा पनि प्रत्येक बालबालिकालाई नियमित खोपको पहुँचमा राख्नुपर्नेमा जोड दिए।
कार्यक्रमका सभाध्यक्ष धुर्वविक्रम शाहीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरणको उपलब्धि सामूहिक प्रयासको परिणाम भएको बताए।
उनले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्थानीय समुदाय, अभिभावक तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिताकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्दै सबैप्रति कृतज्ञता व्यक्त गरे।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरणसँगै ठूलीभेरी नगरपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई संस्थागत गर्दै स्वस्थ र सुरक्षित भविष्य निर्माणतर्फ अर्को महत्वपूर्ण फड्को मारेको छ।

डोल्पा न्यूज । २१ जेष्ठ २०८३, बिहीबार २२:२७