ताजा समाचार

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरगेटमै खिया लाग्दै ९ लाखको घुम्ती शौचालय

विष्णुप्रसाद देवकोटा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ले लाखौँ रुपैयाँ खर्चेर खरिद गरेको घुम्ती शौचालय डेढ वर्षदेखि प्रयोगविहीन अवस्थामा थन्किएको छ ।

सार्वजनिक सेवा दिने उद्देश्यले ल्याइएको शौचालय सञ्चालनमा आउन नसक्दा सरकारी लगानी बालुवामा पानी सरह भएको भन्दै स्थानीयवासीले तीव्र असन्तुष्टि जनाएका छन् ।
नगरपालिकाको मुख्य कार्यालय अगाडि राखिएको उक्त घुम्ती शौचालय अहिले खिया लागेर जीर्ण बन्दै गएको छ । नगरपालिकाको मुकाम बगर बजार तथा भीडभाड हुने भैरबी कोटखौला क्षेत्रमा सार्वजनिक शौचालयको अभाव हुँदा सर्वसाधारण दैनिक सास्ती खेप्न बाध्य छन् ।
ठूलो सङ्ख्यामा सवारी साधन र यात्रु आवतजावत गर्ने क्षेत्रमा शौचालय नहुँदा मानिसहरू होटल धाउन बाध्य भए पनि धेरै होटल सञ्चालकले शौच गर्न नदिने गरेको स्थानीय हंशराज थापाकाे गुनासो छ ।

आवश्यकता, स्थान व्यवस्थापन र दीर्घकालीन सञ्चालनको स्पष्ट योजना बिना भावनात्मक निर्णयका आधारमा शौचालय खरिद गरिएको भन्दै अहिले नगरपालिकामाथि प्रश्न उठ्न थालेको छ ।

सार्वजनिक प्रयोगका लागि ल्याइएको संरचना नगरगेटमै थन्किएको दृश्यले स्थानीय सरकारको कार्यशैलीमाथि नै व्यंग्य गरिरहेको स्थानीय बताउँछन् ।
नगरपालिकाले डेढ वर्ष अघि ८ लाख ५० हजार रुपैयाँ खर्चेर उक्त घुम्ती शौचालय खरिद गरेको जनाएको छ ।
काठमाडौंस्थित यन्त्र मेकर्श प्रा.लीले निर्माण गरेको उक्त शौचालयमा एकैपटक तीन पुरुष र तीन महिलाले प्रयोग गर्न सक्ने क्षमता रहेको छ ।

मेला, भीडभाड र सार्वजनिक कार्यक्रममा उपयोगी मानिएको संरचना सञ्चालन अभावमा अहिले प्रयोगविहीन बनेको छ ।
नगरप्रमुख जनचन्द्र रोकाया ले पूर्वाधार र उपयुक्त स्थान अभावका कारण शौचालय सञ्चालनमा ल्याउन नसकिएको स्वीकार गरेका छन् ।
अब त्रिपुराकोटको निर्माणाधीन हाटबजार तथा खेलकुद मैदान क्षेत्रमा स्थान व्यवस्थापन गरेर सञ्चालन गर्ने तयारी भइरहेको नगरप्रमुख राेकाया बताए ।
प्रमुख प्रशासकीय अधिकृत राजु कुँवर ले सार्वजनिक सेवा दिने उद्देश्यले खरिद गरिएको शौचालय लामो समयसम्म प्रयोगविहीन रहनु दुःखद भएको स्वीकार गर्दै चाँडै सञ्चालनमा ल्याइने बताएका छन् ।

तपाईको प्रतिक्रिया