रुपलाल बाेहाेरा काइके (डोल्पा)
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) डोल्पाले प्रचार–प्रसारलाई आक्रमक रूपमा अघि बढाएको छ । जनताको घरदैलोमै पुगेर मत माग्ने रणनीतिसहित एमालेका संघीय संसद उम्मेदवार, जिल्ला अध्यक्ष तथा जनप्रिय युवा नेता लंक बहादुर रोकाया काइके गाउँपालिकाका दुर्गम बस्तीहरूमा व्यस्त देखिएका छन्।
काइकेको टुप्पा तारा क्षेत्रबाट सुरु भएको घरदैलो अभियानमा रोकायाले जनतासँग प्रत्यक्ष संवाद गर्दै डोल्पाको पीडा, अभाव र सम्भावनाबारे घनिभूत छलफल गरिरहेका छन्। ‘लंक बहादुर रोकाया एक विकल्प’ मात्र नभई, डोल्पालाई संघीय संसदमा प्रभावकारी रूपमा चिनाउने भरोसायोग्य प्रतिनिधि भएको सन्देश मतदातामाझ प्रवाह भइरहेको छ।
स्वच्छ छवि, गतिशील नेतृत्व र संगठनात्मक पकडका कारण डोल्पाली जनताको भरोसा बनेका रोकायाले “अबको समय विवेक प्रयोग गर्ने समय हो” भन्दै मतदातालाई विकास र समृद्धिको आधार निर्माण गर्न आग्रह गरेका छन्। उनका अनुसार डोल्पाको दुःख, पीडा र पछौटेपन अन्त्य गर्न यही निर्वाचन निर्णायक बन्न सक्छ।
घरदैलो अभियानमा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढा सहित एमाले नेताहरूको सहभागिताले अभियानलाई थप बलियो बनाएको छ। गाउँ–बस्तीमा जनताको उत्साहपूर्ण सहभागिता देखिनु, एमालेप्रतिको भरोसा अझै गहिरिँदै गएको संकेत मानिएको छ।
एमालेले यसपटक घाम (सूर्य) चिन्हमा मतदान गरी ‘डोल्पा बनाउने जिम्मेवारी लंकलाई दिनुहोस्’ भन्ने आह्वान गर्दै अगाडि बढेकाे छ। अमूल्य मतको उच्च कदर गर्ने प्रतिबद्धतासहित रोकायाको दमदार उपस्थिति संघीय संसदमा डोल्पाका मुद्दा बुलन्द रूपमा उठाउने विश्वास पार्टीले व्यक्त गरेको घरदैलो अभियानमा सहभागी रुपलाल बाेहाेराले बताए।
निर्वाचनको मिति नजिकिँदै जाँदा एमालेको घरदैलो अभियानले डोल्पाको राजनीतिक तापक्रम अझै बढाइरहेको छ।

डोल्पा न्यूज । २५ माघ २०८२, आईतवार १८:२४