डोल्पा — यार्सागुम्बा संकलनका लागि पाटन खुल्नुअघि नै डोल्पामा लुकीछिपी यार्सागुम्बा चोरी गर्न जाने क्रम बढ्न थालेको छ।
जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित र्याची क्षेत्रमा अवैध रूपमा यार्सागुम्बा संकलन गर्न जाँदै गरेका १७ जनालाई पक्राउ गरिएको छ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार शनिबार र्याची क्षेत्रमा लुकीछिपी यार्सागुम्बा संकलन गर्न जाँदै गरेका त्रिपुरासुन्दरी नगरपालिका–२ रसी गाउँका १७ जनालाई सुन्धुवा स्थित निकुञ्ज र नेपाली सेनाको संयुक्त सुरक्षा टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ३२ वर्षीय रामबहादुर बुढा, १९ वर्षीय निर्मला बुढा, १० वर्षीय नवराज बुढा, ३५ वर्षीय छकी लामा, २० वर्षीय सविना लामा, २३ वर्षीय रमेश बुढा, २५ वर्षीय सोनम बुढा, १६ वर्षीय मनमाया बुढा, ८ वर्षीय हिमाल बुढा, १३ वर्षीय अस्मिता बुढा, १५ वर्षीय विवश बुढा, १५ वर्षीय गीता बुढा, २५ वर्षीय गोविलाल बुढा, २६ वर्षीय मेली बुढा, २४ वर्षीय पेमा बोहरा, १४ वर्षीय निशान बोहरा र १७ वर्षीय पूर्णिमा बोहरा रहेका छन्।
निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनका अनुसार उनीहरूलाई शनिबार पक्राउ गरी आइतबार निकुञ्ज कार्यालयमा ल्याइएको हो। यसअघि पनि निकुञ्जले लुकीछिपी यार्सागुम्बा संकलन गर्न गएका ८ जनालाई पक्राउ गरेको थियो।
यो वर्ष डोल्पाका सम्पूर्ण यार्सापाटनहरू जेठ १० गतेदेखि एकैसाथ खुला गरिने निर्णय भइसकेको छ। यार्सागुम्बा संकलनको समय नजिकिँदै जाँदा पाटन क्षेत्रमा चोरी तथा अवैध प्रवेशका घटना बढ्न थालेपछि सुरक्षा गस्तीसमेत कडा पारिएको निकुञ्जले जनाएको छ।

डोल्पा न्यूज । २८ बैशाख २०८३, सोमबार १९:११