ताजा समाचार

डोल्पामा जीवित परम्परा : ४२ वर्पाषदेखि पानी घट्टमै अडिएको शाहीकाे जीवन

विष्णुप्रसाद देवकोटा

डोल्पा । बदलिँदो समय र प्रविधिको तीव्र विकाससँगै लोप हुने जोखिममा परेका परम्परागत पेशामध्येकाे पानी घट्ट अझै डोल्पामा जीवन्त रूपमा टिकिरहेको छ। ठूलीभेरी नगरपालिका–७ जुफाल घर भई वडा नम्बर ९ स्थित भेत्तीखोलामा ५६ वर्षीय वीरेन्द्र शाही विगत ४२ वर्षदेखि यही पेशामा निरन्तर लागिरहेका छन्।

घट्ट व्यवसायबाटै उनले १० सदस्यीय परिवारको जीविकोपार्जन गर्दै आएका छन्। पुस्तौँदेखि अंगालिएको यो पेशा उनका लागि केवल आयस्रोत मात्र नभई पहिचान पनि हो। तर पछिल्लो समय सडक विस्तार र आधुनिक प्रविधिको प्रवेशसँगै परम्परागत पानी घट्ट विस्थापित हुने चिन्ता उनको मनमा बढ्दै गएको छ।

हाल भेत्तीखोलामा शाहीको घट्टसहित जम्मा चार वटा पानी घट्ट सञ्चालनमा छन्। स्थानीयका अनुसार अत्याधुनिक विद्युतीय कुटानी–पिसानी मेसिनभन्दा पानी घट्टबाट पिसिएको पिठोबाट बनेका रोटी बढी स्वादिलो हुने गर्छन्। स्थानीय मोहनचन्द्र रोकाय भन्छन्, “मेसिनबाट पिसिएको पिठोभन्दा पानी घट्टको पिठो स्वादिलो र स्वास्थ्यकर हुन्छ।”

यद्यपि, विद्युतीय मेसिन एकाध ठाउँमा भए पनि अनियमित विद्युत आपूर्तिका कारण निरन्तर सञ्चालनमा समस्या हुने गरेको उनी बताउँछन्। अर्कोतर्फ, खोलाको किनारमा अस्थायी रूपमा निर्माण गरिने पानी घट्ट वर्षायाममा आउने बाढी–पहिरोले बगाउने जोखिम पनि उत्तिकै छ। यसले गर्दा कुटानी–पिसानी सेवा प्रभावित हुने गरेको छ।

भेत्तीखोलामा रहेको घट्टमा त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका विभिन्न स्थानबाट स्थानीय बासिन्दा अन्न पिस्न आउने गरेका छन्। यसले घट्टको सामाजिक र आर्थिक महत्त्व अझै कायम रहेको देखाउँछ।

स्थानीयवासीहरू परम्परागत पेशाको संरक्षणका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताउँछन्। घट्टलाई सुरक्षित स्थानमा दीर्घकालीन पूर्वाधारसहित व्यवस्थापन गर्ने, आधुनिक प्रविधिसँग जोड्दै व्यवसायलाई समयानुकूल बनाउने तथा संचालकलाई प्रोत्साहन गर्ने कार्यक्रम आवश्यक रहेको उनीहरूको माग छ।

परम्परा, स्वाद र जीविकोपार्जनसँग जोडिएको पानी घट्टको यो अभ्यास संरक्षण र प्रवर्द्धन नहुँदा हराउने जोखिममा छ। समयमै पहल भएमा भने यो केवल पुरानो पेशा मात्र नभई स्थानीय पहिचान र सम्भावनाको आधार बन्न सक्ने देखिन्छ।

तपाईको प्रतिक्रिया