ताजा समाचार

डोल्पामा कालाजारको खोजी : छालाजन्य संक्रमणका शंकास्पद बिरामी भेटिए

विष्णुप्रसाद देवकोटा
हिमाली जिल्ला डोल्पामा कालाजार तथा छाला रोग पहिचानका लागि विशेष स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको छ ।
नेपाल सरकारको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौं, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिकाको स्वास्थ्य शाखा तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को संयुक्त आयोजनामा जिल्लाका विभिन्न स्थानमा क्याम्प सञ्चालन गरिएको हो ।
क्याम्पमार्फत कालाजार रोगको परीक्षण, रोग सार्ने भुसुनाको संकलन, साथै छालामा देखिने कालाजारसम्बन्धी लक्षणको अनुसन्धान तथा स्क्रिनिङ गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।
बुधबार ठूलीभेरी नगरपालिका मा सञ्चालन गरिएको क्याम्पमा ४४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उपचार गरिसकेका एक जना कालाजार संक्रमित फेला परेका छन् भने १३ जनामा छालामा हुने कालाजारको शंकास्पद लक्षण देखिएको मेडिसिन विभाग अन्तर्गत कालाजार अनुसन्धान कार्यक्रमका प्रमुख सुरेन्द्र उराँव ले जानकारी दिए ।
यस्तै बिहीबार त्रिपुराकोट मा सञ्चालन गरिएको शिविरमा ५७ जनाले सेवा लिएका छन् । त्यसमध्ये ९ जनामा छालाजन्य कालाजारको सम्भावित लक्षण देखिएको उराँवले बताए ।
कालाजार रोगको वास्तविक अवस्था अध्ययन, संक्रमितको पहिचान तथा रोग नियन्त्रणसम्बन्धी अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले डोल्पाका विभिन्न क्षेत्रमा यस्ता स्क्रिनिङ क्याम्प सञ्चालन गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया