डोल्पा — हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो क्षेत्रमा ‘लेक लाग्ने’ (हाई अल्टिच्युड सिकनेस) का कारण एक किशोरीको मृत्यु भएको छ।
जुम्लाको गुठीचौर गाउँपालिका–१ मणिगाउँकी १७ वर्षीया मन्जली रोकायाको लेक लागेर मृत्यु भएको हो। उनी कामको खोजीमा शे–फोक्सुण्डो गाउँपालिकाको भिजेर गाउँतर्फ जाँदै गर्दा काङ्लापास आसपास बिरामी परेकी थिइन्।
अचानक टाउको दुख्ने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, बान्ता हुने तथा बेहोस हुनेजस्ता उच्च हिमाली क्षेत्रमा देखिने लक्षण देखिएपछि उनलाई उद्धार गरी फोक्सुण्डो स्वास्थ्य चौकीतर्फ ल्याइँदै थियो। तर उपचारका लागि ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको स्वास्थ्य चौकीले जनाएको छ।
रोकायालाई बचाउन अक्सिजन तथा CPR समेत गरिएको थियो। “स्वास्थ्य चौकीमा ल्याउँदा नाडीको गति र मुटुको चाल नदेखिएकाले मृत्यु भइसकेको पुष्टि स्वास्थ्य चाैकीले गरेकाे थियो ।
समुद्री सतहदेखि करिब ३ हजार ६ सय मिटरभन्दा बढी उचाइमा रहेको फोक्सुण्डो क्षेत्रमा हिउँद सकिएसँगै यार्सागुम्बा संकलनका लागि पाटन जाने स्थानीय, कामदार तथा पर्यटकको चहलपहल बढ्न थालेको छ। यससँगै लेक लाग्ने समस्या पनि देखिन थालेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा प्रशस्त पानी पिउन, बिस्तारै उकालो चढ्न तथा लेक लाग्ने प्रारम्भिक लक्षण देखिनेबित्तिकै हेलचेक्र्याइँ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।
डोल्पाको फोक्सुण्डो क्षेत्रमा लेक लागेर किशोरीको मृत्यु
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २९ बैशाख २०८३, मंगलवार २०:५७