यार्सागुम्बा एक बहुमूल्य जडीबुटी हो। औषधीय गुण र उच्च मूल्यका कारण हिमाली क्षेत्रमा जेठ–असार महिनामा यसको खोजी तीव्र हुने गर्दछ। त्यसैले यो समयलाई यार्सागुम्बा सिजनका रूपमा पनि चिनिन्छ। विशेषगरी डोल्पा लगायत हिमाली जिल्लामा यार्सागुम्बा टिप्न जाने परम्परा वर्षौंदेखि चल्दै आएको छ।
यतिबेला धेरैजसो विद्यालय र कलेजसमेत बन्द गरेर मानिसहरू पाटनतर्फ लाग्ने गर्दछन्। डोल्पा सहित रुकुम, रोल्पा, जाजरकोटलगायत जिल्लाका हजारौं मानिसको प्रमुख आयस्रोत बनेको यो सिजन एउटा उत्सवझैँ हुने गर्दछ। पाटनहरूमा देशका विभिन्न ठाउँबाट आएका मानिसहरूको ठूलो भिड देख्न सकिन्छ।
पारीलो बिहानमा सेताम्मे हिमाल चम्किए पनि त्यहाँ पुग्ने मानिसहरूको भविष्य चम्काउन भने निकै दुःख र संघर्ष गर्नुपर्छ। गाउँघरमा साना बालबालिका र वृद्धवृद्धालाई छोडेर अधिकांश मानिस पोको–पन्तुरो बोकेर लेकतिर लाग्छन्। पाटनको चिसो हावा, हिउँ, कुहिरो, घाम र झरीबीच उनीहरू आशा बोकेर दिनरात यार्साको खोजीमा भौंतारिरहेका हुन्छन्।
जङ्क फुड र स्वास्थ्य जोखिम
यार्सागुम्बा टिप्न जाँदा हलुका र सजिलै बोक्न सकिने खाद्यान्न लैजाने चलन बढी छ। पाटनमा दाउरा अभाव हुने भएकाले धेरैले चाउचाउ, चिउरा, बिस्कुटजस्ता जङ्क फुड बोकेर लैजान्छन्। यसले पेटसम्बन्धी समस्या, झाडापखाला तथा अन्य स्वास्थ्य समस्या निम्त्याउने गर्दछ।
तर पाटनमा देखिने सबैभन्दा ठूलो स्वास्थ्य समस्या भनेको “लेक लाग्नु” हो, जसलाई मेडिकल भाषामा “अल्टिच्युड सिकनेस” भनिन्छ। यार्सा टिप्न गएका कतिपयको लेक लागेर ज्यानसमेत गएको घटना छन्। त्यसैले लेक किन लाग्छ र यसबाट कसरी बच्ने भन्नेबारे जानकारी हुनु अत्यन्त आवश्यक छ।
किन लाग्छ लेक ?
समुद्री सतहदेखि करिब २५०० मिटरभन्दा माथिको उचाइमा पुगेपछि लेक लाग्ने सम्भावना बढ्छ। विशेषगरी पहिलो पटक यार्सा खोज्न जानेहरू बढी जोखिममा हुन्छन्। उचाइ बढ्दै जाँदा हावामा अक्सिजनको मात्रा कम हुँदै जान्छ, जसलाई मेडिकल भाषामा “हाइपोबारिक हाइपोक्सिया” भनिन्छ।
शरीरले कम अक्सिजन भएको वातावरणमा आफूलाई अनुकूल बनाउन समय लिन्छ। त्यस क्रममा छिटो–छिटो सास फेर्ने, अक्सिजन बढाउने प्रयास गर्ने जस्ता प्रतिक्रिया देखिन्छन्। शरीरले वातावरणसँग तालमेल मिलाउन नसकेपछि अल्टिच्युड सिकनेस सुरु हुन्छ।
लेक कमजोर वा वृद्ध व्यक्तिलाई मात्रै लाग्छ भन्ने सोच गलत हो। विभिन्न अध्ययनअनुसार युवा र बालबालिकामा समेत यसको जोखिम बढी हुन सक्छ।
लेक लाग्नुका अवस्था र लक्षण
अल्टिच्युड सिकनेस मुख्यतः तीन चरणमा देखिन्छ :
१. एक्युट माउन्टेन सिकनेस (AMS)
यो सुरुवाती अवस्था हो। यसमा :
टाउको दुख्ने
वाकवाकी लाग्ने
बान्ता आउने
कमजोरी महसुस हुने जस्ता लक्षण देखिन्छन्।
२. फोक्सो सुन्निने (High Altitude Pulmonary Edema – HAPE)
यो गम्भीर अवस्था हो। यसमा :
सास फेर्न गाह्रो हुने
छिटो–छिटो सास फेर्ने
मुटुको चाल तीव्र हुने जस्ता समस्या देखिन्छन्।
३. मस्तिष्क सुन्निने (High Altitude Cerebral Edema – HACE)
यो सबैभन्दा खतरनाक अवस्था हो। यसमा :
अत्यधिक टाउको दुख्ने
लगातार बान्ता हुने
केही नगरी पल्टिरहन मन लाग्ने
होस गुम्ने जस्ता लक्षण देखिन सक्छन्।
फोक्सो वा मस्तिष्क सुन्निने अवस्थामा समयमै उपचार नगरे ज्यानसमेत जान सक्छ।
कसरी बच्ने ?
लेक लाग्नबाट बच्न :
२५०० मिटरभन्दा माथि बिस्तारै उक्लिनु
दिनमा ३०० मिटरभन्दा बढी उचाइ नबढाउनु
प्रशस्त पानी पिउनु
अत्यधिक थकाइ नलिनु
राति सुत्ने ठाउँ दिनभर पुगेको उचाइभन्दा केही तल रोज्नु जस्ता उपाय प्रभावकारी मानिन्छन्।
लेक लागे के गर्ने ?
लेक लागेको शंका लागेपछि :
माथि नचढ्ने
आराम गर्ने
प्रशस्त पानी वा झोलिलो खानेकुरा खाने
अवस्था सुधार नभए तुरुन्त तल झर्ने
यदि बिरामीको अवस्था गम्भीर हुँदै गएर फोक्सो वा मस्तिष्क सुन्निन थालेमा चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार अक्सिजन तथा एसिटाजोलामाइड, निफेडिपिन, डेक्सामेथासोनजस्ता औषधि प्रयोग गर्नुपर्छ।
उकालो चढेको ६–१२ घण्टाभित्र टाउको दुख्ने, वाकवाकी र बान्ता हुने प्रारम्भिक लक्षण देखिन सक्छन्। बेलैमा सतर्कता अपनाए सामान्यतया एक–दुई दिनमै निको हुन सक्छ। तर लक्षण बेवास्ता गर्दै अझ माथि उक्लिने प्रयास गरेमा अवस्था ज्यानै जाने गरी गम्भीर बन्न सक्छ।
पाटनमा बस्दा ध्यान दिनुपर्ने अन्य कुरा
यार्सा सिजनमा पाटनमा अत्यधिक भीडभाड, चिसो, फोहोर पानी, धुवाँ–धुलो र अस्वस्थ खानपानका कारण विभिन्न रोग फैलिने जोखिम हुन्छ। त्यसैले :
सफा र तातो खानेकुरा खाने
काँचो खानेकुरा कम खाने
न्यानो कपडा लगाउने
पानीका मुहान सफा राख्ने
जंगली तथा विषालु च्याउ नखाने
खोलाको किनार, हिमपहिरो आउने वा वन्यजन्तु बस्ने जोखिमयुक्त स्थानमा नबस्ने जस्ता सावधानी अपनाउनु आवश्यक हुन्छ।
सचेतना, सतर्कता र सही तयारीका साथ पाटन जाने हो भने यार्सा सिजन सुरक्षित र फलदायी बन्न सक्छ।
स्वास्थ्य खवर पेजबाट

डोल्पा न्यूज । २२ बैशाख २०८३, मंगलवार २१:५५