
डोल्पा । ‘उत्थानशीलताको सुरुवात घरबाटै हुन्छ’ भन्ने मूल नाराका साथ ३८औँ अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस २०२६ डोल्पामा विभिन्न सचेतनामूलक तथा व्यावहारिक अभ्यास सञ्चालन गरी मनाइएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति डोल्पाको आयोजना तथा बालविवाहविरुद्ध साझा अभियान सञ्जाल, गरिब तथा दलित उत्थान सेवा समिति र गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशको सहयोग, समन्वय र सहकार्यमा मंगलबार विभिन्न कार्यक्रम सञ्चालन गरिएका हुन्।
२०८३ असोज २७ गते बिहान ८ बजे जिल्ला प्रशासन कार्यालयको परिसरबाट सुरु भएको सचेतनामूलक र्याली दुनै बजार परिक्रमा गर्दै खेलकुद रङ्गशालामा पुगेर कार्यक्रममा परिणत भएको थियो।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले घरमा आगलागी हुँदा, खाना पकाउने ग्यास सिलिन्डरबाट आगो सल्किँदा त्यसलाई नियन्त्रण गर्ने तथा अग्नि नियन्त्रण उपकरण प्रयोग गर्ने व्यावहारिक नमुना अभ्यास प्रदर्शन गरेको थियो। सहभागी दुई महिलालाई समेत ग्यास सिलिन्डरमा आगलागी हुँदा सुरक्षित घरेलु उपाय अपनाउने र अग्नि नियन्त्रण उपकरण प्रयोग गर्ने अभ्यास गराइएको थियो।
त्यसैगरी, विपद्मा परेका व्यक्तिको उद्धार कसरी गर्ने भन्ने विषयमा सुरक्षाकर्मीले नमुना अभ्यास प्रस्तुत गरेका थिए। आगलागी नियन्त्रण, उद्धार र विपद्का बेला अपनाउनुपर्ने सावधानीबारे प्रदर्शन गरिएको अभ्यासपछि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष जुनु हमाल ढकालको मन्तव्यसँगै सदरमुकाम दुनैको कार्यक्रम समापन गरिएको थियो।
जुफालमा विपद् सामना गर्ने सीपदेखि बालविवाह रोकथाम सम्म, सचेतना
यसैबीच गैरसरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेश र युरोपेली सङ्घको आर्थिक सहयोग तथा बालविवाहविरुद्ध साझा अभियान सञ्जाल, सिसिर कर्णाली र गरिब तथा दलित उत्थान सेवा समिति डोल्पाको समन्वय र सहकार्यमा ठूलीभेरी नगरपालिका–८ स्थित विडिथान आधारभूत विद्यालय, जुफालमा समुदायस्तरीय कार्यक्रम पनि सञ्चालन गरिएको छ।
एकदिने कार्यक्रममा विपद्को परिभाषा, प्रकार, स्थानीयस्तरमा देखिने विपद्का घटना, जोखिमबाट बच्ने उपाय तथा विपद्पछि उद्धार, राहत र सहयोगका विषयमा छलफल गरिएको थियो। पहिरो, भूकम्प, बाढी, आगलागी र चट्याङजस्ता विपद्बाट सुरक्षित रहने उपायबारे जानकारी दिँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू विपद्बाट बढी प्रभावित हुन सक्ने भएकाले उनीहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो।
विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणमा समुदाय, सरकार, नागरिक र निजी क्षेत्रको भूमिकाबारे छलफल गरिएको कार्यक्रममा बालविवाह, यसका असर, कानुनी व्यवस्था र रोकथामका उपायबारे पनि संवाद गरिएको थियो।
कार्यक्रममा ३७ महिला र तीन पुरुष गरी ४० जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये ३८ जना दलित समुदायका थिए। कार्यक्रमको सहजीकरण गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका सचिव तथा अधिवक्ता रणबहादुर कार्कीले गरेका थिए।
कार्यक्रमको सुरुवातमा सहभागीबीच परिचय तथा विजया दशमी र दीपावली २०८३ को शुभकामना आदानप्रदान गरिएको थियो।
समुदायमा बालविवाहको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै यसको रोकथामका लागि सबै पक्षबीच समन्वय, सहकार्य र साझा प्रयास आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
समुदायस्तरमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउन पुरुषहरूको सहभागिता बढाउँदै अन्य समुदायमा समेत विस्तार गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका थिए।
दिवसका अवसरमा सञ्चालन गरिएका कार्यक्रमले विपद्बाट जोगिने व्यावहारिक सीप, समुदायको तयारी र बालविवाहजस्ता सामाजिक समस्याविरुद्ध सामूहिक जिम्मेवारीको महत्त्व उजागर समेत गरेको छ।






