ताजा समाचार

डोल्पामा नयाँ जिल्ला दररेट : कुशल कामदारको ज्याला रु. १,९५५ र खच्चडको मूल्य १ लाख २० हजार

विष्णुप्रसाद देवकोटा
डोल्पा जिल्लामा आर्थिक वर्ष २०८३/०८४ का लागि लागू हुने ज्याला, निर्माण सामग्री, ढुवानी, कृषि उत्पादन, पशुपन्छी तथा बिउबिजनको आधिकारिक जिल्ला दररेट स्वीकृत गरिएको छ। प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दररेट निर्धारण समितिका अध्यक्ष जुनु हमाल ढकालको अध्यक्षतामा बसेको समितिको बैठकले सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार नयाँ दररेट पारित गरेको हो।
समितिले माथिल्लो क्षेत्र (डोल्पो बुद्ध, शे–फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिका) र तल्लो क्षेत्र (अन्य स्थानीय तह) का लागि छुट्टाछुट्टै ज्याला निर्धारण गरेको छ। स्वीकृत दरअनुसार कुशल/अदक्ष कामदारको दैनिक ज्याला तल्लो क्षेत्रमा रु. १,५५५ र माथिल्लो क्षेत्रमा रु. १,९५५, अर्धदक्ष कामदारको रु. १,३६५ देखि १,५७५, सिकर्मी, डकर्मी तथा दक्ष कामदारको रु. १,६८० देखि १,९५५, प्लम्बर, पेन्टर र सुपरभाइजरको रु. १,५४० देखि १,९५५, इलेक्ट्रिसियनको रु. १,५७० देखि १,९७५, तथा कालिगढको रु. १,६५० देखि १,७६५ निर्धारण गरिएको छ।
ढुवानीतर्फ सानो गोटालोको दैनिक ज्याला रु. १,३७०, ठूलो गोटालोको रु. ९,३७०, जंगलको माथिल्लो सतहको माटो उत्खनन रु. ३,००० प्रति घनमिटर, तथा ग्राभेल रु. १,८०० प्रति घनमिटर कायम गरिएको छ।
पशुपन्छीको मूल्यसूचीमा गाई रु. २० हजार, जर्सी गाई रु. ६० हजार, भैंसी रु. ८० हजार, राँगो रु. १ लाख, चौँरी गाई रु. ९० हजार, चौँरी याक रु. १ लाख, घोडा/घोडी रु. ८० हजार, खच्चड रु. १ लाख २० हजार, बोका प्रतिकेजी रु. १,६५०, च्यांग्रा प्रतिकेजी रु. २,०००, भेडा प्रतिकेजी रु. ७००, स्थानीय कुखुरा प्रतिकेजी रु. १,५००, टर्की प्रतिकेजी रु. २,०००, हाँस प्रतिकेजी रु. ९००, दूध प्रतिलिटर रु. २००, स्थानीय अण्डा प्रतिगोटा रु. ३५, ऊन प्रतिकिलो रु. ३२५, भेडाको मासु प्रतिकिलो रु. १,६०० तथा मकै दाना प्रतिकिलो रु. १०० निर्धारण गरिएको छ।
कृषितर्फ स्याउको कलमी रु. ५५०, स्याउको बिउ रु. ५०, सुन्तलाको कलमी रु. १००, किवीको बिरुवा रु. २००, अतिसको बिउ प्रतिकेजी रु. २० हजार, केशर गाना प्रतिकेजी रु. २,५००, मह प्रतिकेजी रु. २,५००, गोलासहितको आधुनिक मौरीघार रु. १६ हजार, न्यूक्लियस पाँच फ्रेम मौरीघार रु. ३ हजार, गोला बाहेकको आधुनिक मौरीघार रु. ५ हजार, तथा इटालियन स्याउको कलमी बिरुवा रु. १,३०० प्रति गोटा कायम गरिएको छ।
निर्माण सामग्रीतर्फ स्लेट प्रतिवर्गमिटर रु. ७२०, बाँस प्रतिमुठा रु. ५५, सिमेन्ट प्रतिबोरा रु. ४००, चुना प्रतिकिलो रु. १६५, बालुवा प्रतिघनमिटर रु. २,६४०, चिजेल ड्रेस स्टोन रु. ८,८००, ह्यामर ड्रेस स्टोन रु. ५,४४०, तथा रबल स्टोन रु. २,००० प्रति घनमिटर निर्धारण गरिएको छ।
समितिले जिल्लाबाहिरबाट ल्याइने निर्माण सामग्रीमा सुर्खेत र दैलेख जिल्लाको स्वीकृत दरमा ढुवानी खर्च जोडेर लागत कायम गर्ने तथा स्थानीय निर्माण सामग्रीमा रोयल्टीसहितको दर लागू गर्ने निर्णयसमेत गरेको छ।
जिल्ला दररेट निर्धारण समितिले स्वीकृत गरेको यो दररेट आर्थिक वर्ष २०८३/०८४ भर सरकारी कार्यालय, स्थानीय तह तथा सार्वजनिक निकायहरूले लागत अनुमान, खरिद प्रक्रिया र विकास निर्माणका कार्यमा अनिवार्य रूपमा प्रयोग गर्नेछन्।

तपाईको प्रतिक्रिया