ताजा समाचार

चुं गाउँमा स्वच्छ पिउने पानी पुगेपछि भान्सामै उज्यालो, बर्साैँदेखिको सपना साकार

विष्णुप्रसाद देवकोटा

डोल्पा, असार ६ गते ।

काठको धारा, धमिलो पानी, घण्टौंको पालो—यही थियाे चुं गाउँको दैनिकी। तर अब त्यो दिन इतिहास बनिसकेको छ। त्रिपुरासुन्दरी नगरपालिका–९ चुं गाउँमा वर्षौंदेखिको स्वच्छ पिउने पानीको सपना साकार भएको छ। सुस्वा परियोजनामार्फत घर–घरमा अत्याधुनिक धारा जडान भई स्वच्छ पानी पुगेपछि गाउँभर उज्यालो छाएको छ।

धमिलो पानीको पालो सकियो, अब स्वच्छ पानी भान्सामै”

स्थानिय समाजसेवी धर्मराज बुढा भन्छन्— “हामी पशुबस्तुले टेकेको धमिलो पानी काठको धारामा पिउँथ्यौं। अहिले घरमै नल खुलेर स्वच्छ पानी बग्दाको दृश्य देख्दा विश्वासै लाग्दैन। यो सपना साकार भएको दिन हो।”

नगरप्रमुखको भावुकता : “मैले पनि १० घण्टा पालो बसेर पानी ल्याएको छु”

चुं खानेपानीकाे विशेष उद्घाटन कार्यक्रममा बोल्दै त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकाया निकै भावुक बने। “चुं गाउँजस्तै म पनि पानीको पालो कुर्दै हुर्किएको मान्छे हुँ। यहाँको पीडा मैले आफ्नै जीवनमा भोगेको छु। सुस्वा आयोजना र जनताको श्रमद्वारा सम्पन्न यस कार्यप्रति म आभार व्यक्त गर्छु,” उनले भने। उनले बस्ती एकीकृत भएकाले अब ढल व्यवस्थापन पनि अति आवश्यक रहेको उल्लेख गर्दै नगरपालिकाबाटै पहल थालिने प्रतिबद्धता व्यक्त गरे। खानेपानी र शाैचालय  गुणस्तर र परिमाणअनुसार सबै काम सन्तोषजनक भएको पनि उनले बताए।

फिनल्यान्ड र युरोपियन युनियनको सहयोग, जनताको श्रममा टिकेको विकास

स्वच्छ पानीको यो आयोजना “सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा)” अन्तर्गत सम्पन्न भएको हो। फिनल्यान्ड सरकार, युरोपियन युनियन, नेपाल सरकार तथा त्रिपुरासुन्दरी नगरपालिकाको साझेदारीमा सम्पन्न यस आयोजनाको कुल लागत ९२ लाख ३१ हजार ५२९ रुपैयाँ रहेको छ। यसमा स्थानीय उपभोक्ताको १७ लाख ५३ हजार ९९० रुपैयाँ बराबरको श्रम–योगदान छ।

गाउँका १६६ घरधुरीमध्ये १६३ घरमा पक्की धारा जडान भई स्वच्छ पानी भान्सासम्म पुगेको छ।

स्थानिय तीर्थ कार्की र रुपचन्द्रा बुढाले एकै स्वरमा भने— “यो आयोजनाले केवल पानी दिएको छैन, बाँच्न सहज बनाएको छ। विशेषगरी महिला, वृद्ध, बालबालिका र चौपायाका लागि यो वरदानजस्तै बन्यो।”

विद्यालयमा अपाङ्गमैत्री शौचालय, स्थलगत अनुगमन पनि सम्पन्न

सुस्वा परियोजनाबाटै जनप्रिय आधारभूत विद्यालयमा १० लाख ४९ हजार ११९ रुपैयाँको लागतमा छात्र–छात्रा र अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ। खानेपानी र शौचालयको स्थलगत अनुगमन तथा सार्वजनिक परीक्षण कार्यक्रम उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रममा नगर उपप्रमुख देवी घर्ती, सुस्वा परियोजनाका प्राविधिक विज्ञ नारायणसिं खवास, सल्लाहकार प्रमोदलाल श्रेष्ठ, संयोजक धनप्रसाद बुढा, इन्जिनियर चन्द्रशेखर वली, छैठौं अधिकृत रमेश रावत, सामाजिक विकास संयोजक भक्तबहादुर केसी, वडा नं. ७ अध्यक्ष खम्ब बुढा, वडा नं. ९ अध्यक्ष राजु बुढा लगायत गाउँलेहरूको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै सुस्वा परियोजनाका प्राविधिक विज्ञ नारायणसिं खवासले, दीर्घकालीन मर्मत सम्भार नै दिगोपनाको आधार हो,” भन्दै प्रत्येक योजनालाई अपनत्व बनाउनु पर्नेमा जाेड दए ।मर्मत संभार काेष नै याेजना नियमितताकाे आधार भएकाे उल्लेख गर्दै  याेजना सम्पन्न गर्नु ठूलाे नभई यसलाई चिरकाल सम्म बचाई सदुपयोग गर्नु ठुलाे हुने भएकाले सबैकाे सकारात्मक साेच र सहयाेग आवश्यक हुन्छ विज्ञ खवासले बताए । नगरउपप्रमुख देवी घर्तीले राम्राे काम गर्दै पनि अख्तियारमा मुद्दा हाल्ने प्रबृत्ति बढेकाेले प्राविधिक मापदण्डमा रहेर गुणस्तरीय याेजना सम्पन्न गर्नु पर्ने उल्लेख गर्दै परिमाण र गुणस्तरतामा ध्यान दिएमा मुद्दाले मात्र खासै  फरक नपर्ने सुझाउदै चुं गाउँमा खानेपानी याेजनाकाे प्रसंसा गरिन ।

सांस्कृतिक प्रस्तुति र बालबालिकाको उत्साह

उक्त अवसरमा विद्यालयका बालबालिकाहरूले विविध सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रस्तुति दिएका थिए। अतिथि सत्कार तथा मनोरञ्जनका लागि गरिएको कार्यक्रमले वातावरण झनै राेचकता थपेकाे थियाे।

तपाईको प्रतिक्रिया